काठमाडौं, ६ चैत्र । सत्तारुढ राप्रपाले धर्म निरपेक्षता हटाएर हिन्दू राष्ट्र बनाउनु पर्ने प्रस्ताव व्यवस्थापिका संसद्मा दर्ता गरेको छ ।संविधानसँग बाझिएको भन्दै निर्वाचन आयोगले राप्रपाको विधानबाट ‘हिन्दु राष्ट्र र राजसंस्था’लाई काटेपछि संसद्मा राप्रपाको सो प्रस्ताव दर्ता भएको हो ।
राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठका अनुसार आइतबार संसद् सचिवालयमा राप्रपाले संविधानको धारा ४(१) मा धर्म्निरपेक्षको सट्टा ‘पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दू राष्ट्र’ होस् भन्ने संशोधन प्रस्ताव दर्ता गरेको छ ।
गैरसरकारी विधेयकका रुपमा दर्ता भएको सो प्रस्ताव (विधेयक राप्रपाकी कुन्ती साही, जयन्त चन्द, सुशीलकुमार श्रेठसहितका ६ सांसदले दर्ता गरेका हुन् । उक्त संशोधन विधेयक सभामुखले स्वीकृत गरपेछि संसदीय प्रक्रियामा जाने छ ।