राप्रपाको निर्वाचन आयोगविरुद्ध देशब्यापी प्रदर्शन

0
512

काठमाडौं, ७ चैत्र । सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगको निर्णयविरुद्ध देशब्यापी प्रदर्शन थालेको छ । स्थानीय तह निर्वाचनका लागि संविधानअनुसार दल दर्ताका क्रममा आयोगले राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाएपछि राप्रपा आन्दोलित भएको हो ।

आयोगविरुद्ध आन्दोलन घोषणा गरेको राप्रपाले आज देशैभरका निर्वाचन आयोगका कार्यालय अगाडि धर्ना दिनुका साथै ज्ञापनपत्र बुझाउने जनाएको छ । राजधानीमा भने निर्वाचन आयोगको कार्यालय बहादुर भवन अगाडि राप्रपाले धर्नासहित निर्वाचन आयोगका प्रमुख आयुक्तलाई ज्ञापन पत्र बुझाउँदैछ ।

निर्वाचन आयोगविरुद्ध आन्दोलन थालेको राप्रपाले देशका विभिन्न ठाउँमा प्रदर्शन गर्दै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको पुत्ला जलाएको हाम्रा सहकर्मीहरुले जनाएका छन् ।

यस्तै,
धर्मनिरपेक्षतालाई हटाएर हिन्दु राष्ट्र बनाउनुपर्ने प्रस्तावसहित राप्रपाले हिजो संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गराएको छ । निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउने निर्णय गरेपछि राप्रपाले संविधान संशोधन विधेयक दर्ता गराउने निर्णय गरेको थियो ।

राप्रपाकी कुन्ती शाही, जयन्त चन्द, सुशीलकुमार श्रेठसहितका ६ सांसदले गैरसरकारी विधेयकका रुपमा संसद सचिवालयमा विधेयक दर्ता गराउनु भएको हो । प्रस्तावमा ‘धर्मनिरेपक्ष भन्ने पदावधीको सट्टा ‘पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र’ भन्ने बाक्यांश राख्नुपर्ने’ उल्लेख छ ।

राप्रपाले दर्ता गरेको संशोधन विधेयक सभामुखले स्वीकृत गरपेछि संसदीय प्रक्रियामा जानेछ । तर, संविधान संशोधनसम्बन्धि सरकारी विधेयक नै संसदमा विचाराधीन रहेको अवस्थामा राप्रपाले ल्याएको संशोधन तत्काल अघि बढ्ने सम्भावना भने कम रहेको छ ।