काठमाडौं, ८ चैत्र । केही वर्षअघिको तुलनामा अहिले बजारमा पाइने तरकारीको मूल्य घटेको छ । कालीमाटी फलपूmल तथा तरकारी बजार विकास समितिको तथ्याङ्कअनुसार गएको चार वर्षको तुलनामा मुख्य मुख्य तरकारीहरूको मूल्यमा गिरावट आएको देखिन्छ ।
तथ्याङ्कअनुसार चार वर्षअघिको तुलनामा अहिले प्रतिकिलो ३० रुपैयाँसम्म तरकारीको मूल्य घटेको पाइयो । तरकारीको आपूर्ति बढ्नाले मूल्य घट्न गएको कुरा बजार विश्लेषकहरू बताउँछन् ।
तथ्याङ्कअनुसार चार वर्षअघि यस मौसममा प्रति किलो थोक मूल्य ३८ रुपैयाँ पर्ने गोलभेंडा अहिले १० रुपैयाँ घटेर २८ पुगेको छ ।
२०७० सालको यसै अवधिमा थोक मूल्य प्रति किलो २३ रुपैयाँ रहेको आलुको मूल्य अहिले घटेर १९ रुपैयाँमा झरेको छ । त्यसैगरी गएको ४ वर्षको तुलनामा सुकेको प्याजमा ५ रुपैयाँ, बन्दा ९, स्थानीय काउलीमा १३, तामा ३०, तीते करेलामा २५ र परवरमा २५ रुपैयाँ मूल्य घटेको छ । ती तरकारीहरूको मूल्य हाल बजारमा क्रमशः प्रति किलो २५, १८, २२, १२५, ७२ र ७२ रुपैयाँ रहेको छ ।
नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको देशको आर्थिक परिदृश्यमा समेत उपभोक्ता मूल्यवृद्धि साढे ३ प्रतिशतभन्दा कम रहेको देखाइएको छ । जबकि अघिल्लो वर्ष सोही अवधिमा करिब साढे ११ प्रतिशत मूल्यवृद्धि रहेको थियो । यसबाट पनि उपभोग्य वस्तुको मूल्यवृद्धि गएको वर्षभन्दा घटेको देखिन्छ ।
बजारमा अधिकांश तरकारीको मूल्य घटे पनि केहीको भने बढेको पाइएको छ । समितिको तथ्याङ्कअनुसार मूला, मटरकोसा, घिउ सिमी, फर्सी र रायो साग आदि तरकारीको मूल्य बढेको देखिन्छ ।
तरकारी फलफूल थोक बजार व्यवसायी संस्थाका अध्यक्ष भरत खतिवडाले विगत वर्षको तुलनामा तरकारीको आपूर्ति बढेकाले मूल्य घटेको बताए । “केही महिनाअघि मात्र कालिमाटी तरकारी बजारमा दैनिक ६(७ सय टन तरकारी भित्रिने गरेकोेमा अहिले बढेर ८(९ सय टन भित्रिने गरेको छ,” उनले भने ।
उनका अनुसार उत्पादन वृद्धि र आयातमा सहजताका कारण आपूर्ति बढे पनि बजारमा भण्डारण गर्ने व्यवस्था मिलाउन सकिएको छैन । यसले गर्दा कतिपय अवस्थामा तरकारी अनुकूल मूल्य निर्धारण गर्न कठिनाइ पर्ने गरेको छ । उनले बजारमा कति मात्रामा तरकारी भित्रियो, त्यसले मूल्य निर्धारण गर्ने बताए । उनका अनुसार, तरकारी छिटै बिग्रिने कुरा भएकाले वातावरण अनुकूल भण्डारणको आवश्यकता छ ।
तरकारी व्यवसायीहरू हाल उपत्यकामा १०/१५ प्रतिशतले तरकारीको माग तथा आपूर्ति बढिरहेको बताउँछन् । हाल भारतबाट करिब ५० प्रतिशत तरकारी कालिमाटी बजारमा भित्रिइरहेको छ । व्यवसायीहरूका अनुसार अहिले भारतमा पनि तरकारीको मूल्य सस्तिएको छ । त्यसको प्रभाव नेपाली बजारमा समेत परेको उनीहरूको भनाइ छ ।