गगन थापाको स्वास्थ्यमन्त्रीबाट राजीनामा दिने तयारी : काठमाडौंको मेयरमा उठ्ने चर्चा

0
536

काठमाडौं, ८ चैत्र । प्रमुख दलहरू वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न सहमत भएपछि मुलुक चुनावको बाटोमा गएको छ । मधेसी मोर्चासमेत सीमांकन थाती राखेर स्थानीय तहको संख्या बढाए चुनावमा जान सकिने भन्दै लचक भएपछि मुलुक अब चुनावमय हुने विश्लेषण गर्न थालिएको छ । यही बीचमा मुलुकका चारवटा महानगरपालिकाको मेयरमा कुन पार्टीबाट कस्ता उम्मेदवार बन्दैछन् भन्ने चर्चा परिचर्चा हुन थालिसकेको छ । खासगरी काठमाडौं महानगरपालिकामा सबैको ध्यान केन्द्रित हुन थालेको छ ।

मुलुकको राजधानीसमेत भएकाले काठमाडौंको मेयरको चर्चा धेरै हुने गरेको हो । विगतमा पीएल सिंह र केशव स्थापित पनि मेयर भएकै कारण चर्चामा धेरै आएका थिए । कुनै मन्त्रालयभन्दा धेरै बजेट चलाउन पाइने, कार्यकर्तालाई धेरै रोजगारी र काम दिन सकिने, जनतासँग धेरै घुलमिल हुने भएकाले पनि काठमाडौंको मेयरमा कुन पार्टीबाट को उठ्दै छ भन्ने कुराले चर्चा पाउने गरेको हो ।

खासगरी काठमाडौंको मेयरमा कांग्रेस, एमाले र माओवादी केन्द्रले कुन नेतालाई उठाउँदैछन् भन्ने चर्चा र अनुमान गर्न थालिएको छ । एमलेले योगेश भट्टराई, कृष्णगोपाल श्रेष्ठ र जीवनराम श्रेष्ठको नाम चर्चामा ल्याएको छ । माओवादी केन्द्रले अहिलेसम्म कसैको नाम चर्चामा ल्याएको छैन । तर, अनेरास्ववियु क्रान्तिकारीका पूर्वअध्यक्ष हिमाल शर्मालाई माओवादीले उम्मेदवार बनाउने चर्चा छ ।

अहिले सबैको ध्यान कांग्रेसबाट मेयर बन्ने उम्मेदवारको विषयमा गएको छ । कांग्रेसले युवा नेता गगन थापालाई काठमाडौंको मेयर बनाउने चर्चा सुरु भएको छ । यसका लागि थापाले छिट्टै स्वास्थ्यमन्त्रीको जिम्मेवारीबाट राजीनामा दिने कांग्रेस उच्च स्रोतले जानकारी दियो ।

स्वास्थ्यमन्त्री भएपछि स्वास्थ्य सुधारका क्षेत्रमा महत्वपूर्ण निर्णय र कार्यक्रम घोषणा गर्दै आइरहेका थापालाई काठमाडौंको मेयर बनाउने र कांग्रेसको चुनावी कमान्डरको जिम्मेवारी दिने कुराका पार्टी सभापति शेरबहादुर देउवा पनि सकारात्मक भइसकेको बुझिएको छ ।

केही दिनअघि स्वास्थ्यमन्त्री थापा आफैंले मन्त्री पदबाट राजीनामा दिएर देशव्यापी रूपमा कांग्रेसको पक्षमा चुनावी माहोल ल्याउन सभापति देउवासमक्ष प्रस्ताव गरेको बताइएको छ । स्थानीय तहको चुनाव गराउने हो भने तत्काल विजयकुमार गच्छदारको फोरम लोकतान्त्रिकलाई सरकारमा सामेल गराउनुपर्ने भएकाले पनि कांग्रेसबाट मन्त्री भएकाहरूले मन्त्री पद छाड्नुपर्ने परिस्थिति सिर्जना भएको छ ।

केही दिनअघि कांग्रेसका मन्त्रीहरूलाई आफ्नै निवासमा बोलाएर सभापति देउवाले संविधान कार्यान्वयन गर्न र चुनावको माहोल बनाउन जुनसुकै मूल्य चुकाउन तयार रहन निर्देशन दिएका थिए । कांग्रेसले बालकृष्ण खाँण, गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेललगायतका नेतालाई चुनावी कमान्डर तोक्ने गृहकार्य सुरु गरेको स्रोतले बतायो ।