काठमाडौं, ८ चैत्र । डिआइजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षकको बनाउने सरकारको निर्णय बदर गर्दै सर्वोच्च अदालतले डीआईजी नवराज सिलवाललाई प्रहरी प्रमुख बनाउन सरकारको नाममा परमादेश जारी गरेको छ ।
प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासले डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा बढुवा गर्ने सरकारको निर्णय बदर भएको फैसला सुनाएको हो ।
साथै बहालवाला प्रहरी नायव महानिरीक्षकहरुमध्ये योग्यतम् र विगत चार आर्थिक वर्षको कार्यसम्पादन मूल्यांकनमा औषत उच्च अंक प्राप्त गर्नेलाई तत्काल प्रहरी महानिरीक्षकमा नियुक्त गर्न परमादेश दिएको छ ।
सर्वोच्चको फैसलामा डीआईजी सिलवाललाई नै प्रहरी प्रमुख बनाउन भनिएको छैन । तर, फैसलाको पृष्ठभूमिमा पछिल्लो चार आर्थिक वर्षको कार्यसम्पादन मूल्यांकनमा कुल औषत अंक हेर्दा नवराज सिलवाल पहिलो नम्बरमा रहेको उल्लेख छ ।