काठमाडौं, ९ चैत्र । व्यवस्थापिका संसद्मा प्रतिनिधित्व गरेका साना दलहरुले थ्रेस होल्डप्रति विरोध जनाएका छन् । बुधबार बसेको व्यवस्थापिका संसद्को बैठक बहिस्कार गर्दै उनीहरुले थ्रेसहोल्डप्रति विरोध जनाएका हुन् ।
संसद बैठकमा राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीलाई राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७३ लाई प्रस्तुत गर्न सभामुख ओनसरी घर्तीले अनुमति दिएकी थिइन् । सभामुख घर्ती उक्त विधेयक प्रस्तुत गर्न समय दिएलगत्तै साना दलहरु नाराबाजी गर्दै संसद्बाट बाहिरिएका हुन् ।
उनीहरुले प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षतर्फ एक सिट जित्नु पर्ने बाध्यकारी व्यवस्था संविधान र लोकतन्त्रविपरीत भएको भन्दै सो व्यवस्था रहेको विधेयक फिर्ता लिन आग्रह गरेका छन् ।
संसद बैठक बहिष्कार गर्नेमा सीपी मैनाली नेतृत्वको नेकपा माले, राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक), नेपाल परिवार दल, दलित जनजाति पार्टी लगायत छन् ।
राष्ट्रिय दल बन्न कुल मतमध्ये समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षतर्फ एक सिट जित्नु पर्ने व्यवस्था गरिएको विधेयक बुधबार नै राज्य व्यवस्था समिति र उपसमितिको बैठकबाट पारित गरिएको हो ।