काठमाडौंको टोखामा प्रहरीले गोली चलाएको छ । अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर एक जना फरार अपराधीलाई पक्राउ गरेको हो ।
प्रहरीले फरार अपराधी भारत बिहारका नागरिक गुड्डु पटेललाई नियन्त्रणमा लिन गोली चलाएको हो । उनी नेपालमा रहेको सूचनापछि अपराध अनुसन्धानका अधिकारीहरूले उनलाई पछ्याइरहेका थिए । टोखा क्षेत्रमा देखिएका पटेललाई सुरूमा आत्मसम्पर्ण गर्न भनेपनि उनी भाग्न थालेपछि प्रहरीले दुइ राउण्ड हवाइ फायर गरेर चेतावनी दिएको थियो ।
पटेलले अटेर गरेपछि उनको घुँडामा गोली हानेर नियन्त्रणमा लिइएको थियो । घाइते पटेललाई तत्काल स्थानिय अस्पताल र अहिले शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा गुड्डु पटेल रहेको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले पर्दाफाससँग पुष्टि गरेका छन् । उनले पटेल २०७९ मा गोठाटारमा भएको लाल मोहम्मद दर्जी, लाल मोहम्मद र लालसिंह नाम भएका विवादास्पद ब्यक्तीको हत्याका मुख्य सुटर हुन् ।
कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा कपडा प्याक गर्ने प्लाष्टिक लिएर जोरपाटीबाट फर्केका मोहम्मदलाई बा.६ च ५१५२ नम्बरको गाडीबाट ओर्लनासाथ २ जनाले गोली हानेर भागेका थिए ।
अपराध अनुसन्धान कार्यालयले केहीसमयमै विवरण सार्वजनिक गर्ने जनाएको छ ।