संकटमा बिष्केट जात्रा, जुजुभाइले जिब्रो नछेड्ने

0
594

काठमाडौं, ११ चैत्र । हरेक वर्ष वैशाख २ गते बिस्केट जात्रामा मनाइने प्रसिद्ध जिब्रो छेड्ने जात्रा यसवर्ष संकटमा परेको छ । मध्यपुरथिमिको बोडेमा सयौँवर्ष अगाडिदेखि निरन्तर रुपमा सञ्चालन हुँदै आएको जिब्रो छेड्ने जात्रा यसवर्ष सङ्कटमा परेको हो। विगत आठ वर्षदेखि जिब्रो छेड्दै आएका ३८ वर्षका जुजुभाइ बाग श्रेष्ठले हिजो पत्रकार सम्मेलन गरी यसवर्ष आफूले जात्रालाई निरन्तरता दिन नसक्ने बताउनु भयो । उहाँले भन्नु भयो– ‘विगत आठ वर्षदेखि मैले जिब्रो छेड्दै आएको हुँ, यसवर्ष भने मैले यो जात्रालाई निरन्तरता दिन सकिनँ, मैले यसवर्ष जिब्रो नछेड्ने निर्णय गरे, अब बोडेका अरु व्यक्ति जिब्रो छेड्न तयार हुनुपर्छ।’

विगतका वर्षमा पनि जिब्रो छेड्ने व्यक्ति तयार नहुँदा जात्रालाई निरन्तरता दिएका जुजुभाइले यसवर्ष जिब्रो नछेड्ने भएपछि अरू तयार नभए जात्रा नै रोकिने भएको छ। घरमा पारिवारिक समस्या आएको र बोडेका अरूलाई पनि जात्रालाई निरन्तरता दिन जिब्रो छेड्ने अवसर प्रदान गर्नका लागि पनि आफूले यसवर्ष जिब्रो नछेड्ने निर्णय गरेको उहाँको भनाई छ । जुजुभाइले जिब्रो छेड्नु अघि चार वर्ष बुद्धकृष्ण बाग श्रेष्ठले र १२ वर्ष उहाँका दाजू कृष्णचन्द्र बाग श्रेष्ठले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिनु भएको थियो ।