काठमाडौं, ११ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार मध्यरात चीनतर्फ प्रस्थान गरे । चीनको हाइनान प्रान्तमा हुने बोआओ सम्मेलनमा भाग लिन चीन जानुअगाडि प्रधानमन्त्रीले आफ्नो अनुपस्थितिमा वरिष्ठ उपप्रधानमन्त्रीलाई कार्यबाहकको जिम्मा दिनुपर्ने हो । तर, नेपालको इतिहासमा पहिलोपल्ट प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा मुलुक सरकार प्रमुखविहीन हुन पुगेको छ । प्रधानमन्त्री ६ दिनपछि स्वदेश फर्कंदैछन् । त्यसबेलासम्म सरकार प्रमुखले गर्ने निर्णय कसले गर्ला भन्ने अन्योल सिर्जना भएको छ ।
प्रधानमन्त्रीले आफू विदेश भ्रमणको स्वीकृतिसमेत गराउन सकेनन् । जबकि राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री विदेश भ्रमण जानुअघि मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्नुपर्ने हुन्छ । प्रचण्डले आफ्नो चीन भ्रमण स्वीकृत गराउन दुई–दुईपटक मन्त्रिपरिषद् बैठक राख्न खोजे पनि असफल भए । वरीयतामा आफूलाई दोस्रो नम्बरमा राखे पदबाट राजीनामा दिने उपप्रधानमन्त्री निधिले चेतावनी दिएपछि प्रचण्ड चीन भ्रमणको प्रस्ताव स्वीकृत गराउन असफल भएका हुन् ।
मुलुक सरकार प्रमुखविहीन हुनुको प्रमुख कारण भने प्रधानमन्त्री प्रचण्ड नै रहेको कांग्रेस मन्त्रीहरूको भनाइ छ । उपप्रधान एवं गृहमन्त्री नयाँ दिल्लीमा रहेकै बेला प्रचण्डले कसैसँग सरसल्लाह नगरी कमल थापालाई उपप्रधानमन्त्रीको वरीयतामा पहिलो नम्बरमा राखे । त्यसपछि दुई उपप्रधानमन्त्री निधि र थापाबीच वरीयतामा विवाद सुरु हुन पुगेको हो ।
‘कांग्रेस संसद्को पहिलो ठूलो पार्टी हो । कांग्रेसकै सहयोगमा प्रधानमन्त्री बन्न सफल प्रचण्डले नौ महिनापछि कांग्रेसलाई नै धोका दिन्छन् भन्ने लागेको थिएन, तर कम्युनिस्ट नेताहरूले आफ्नो चरित्र देखाइहाल्छन,’ कांग्रेसका एक सांसदले भने, ‘आफूलाई सर्वहार वर्गको नेता मान्ने प्रचण्ड चरम दक्षिणपन्थी पार्टीको नेतासँग किन टाँसिन पुगेका हुन् आश्चर्य लाग्छ ।’
महरालाई कार्यवाहकको जिम्मेवारी !
स्रोतका अनुसार निधि र थापाबीच वरिष्ठता विवाद चुलिएपछि प्रधानमन्त्री प्रचण्डले अर्का उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरालाई कार्यबाहकको जिम्मेवारी दिएका छन् । त्यसको जानकारी दिन प्रचण्डले बिहीबार बिहान माओवादी केन्द्रको संसदीय दलको बैठक राखेको बताइएको छ । कार्यबाहक दिँदा त्यसबारे सार्वजनिक गर्नुपर्नेमा प्रचण्डले आन्तरिक रूपमा महरालाई नै त्यसको जिम्मेवारी दिएको बालुवाटार निकट स्रोतले बतायो ।