काठमाण्डौं, १२ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणबाट फर्केको एक सातापछि राष्ट्रपति विद्यादेवी भण्डारी अर्को छिमेकी मुलुक भारत भ्रमणमा जाने भएकी छन् । राष्ट्रपति भण्डारी बैशाख ४ गते भारत भ्रमणमा जाने तिथि तय भएको हो। वैशाख ५ मा नयाँदिल्लीमा उच्चस्तरको भेटवार्ता गर्नेगरी उनको भ्रमण तय भएको जानकारी परराष्ट्र मन्त्रालय उच्चस्रोतले बतायो । राष्ट्रपति भण्डारीको भ्रमण तालिका केही दिनमा सार्वजनिक गरिनेछ ।
यसअघि चैतको दोस्रो साता त्यसतर्फ जाने तयारी भए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको व्यस्तता र भारतीय राजदूत पनि नभएका कारण उनको भ्रमण दुई साता पछि सरेको हो । ‘अहिलेसम्मको तयारीअनुसार राष्ट्रपछि वैशाख ४ मा भारत जाने र त्यहाँको भ्रमण तालिका तय हुँदा चार या पाच दिन बस्ने कार्यतालिका बन्दैछ’, परराष्ट्र मन्त्रालय उच्चस्रोतले भन्यो, ‘दिल्ली वैशाख चार मा पुग्ने ।
पाँचमा भेटघाट गर्ने र ६ गते बनारस हिन्दु विश्वविद्यालयको कार्यक्रममा सहभागी हुनेगरी तालिका तय भए पनि अन्य स्थान कहा जाने भन्ने विषय अझै टुंगो लाग्न बाँकी छ ।’ प्रस्तावित मितिअनुररूप उनको पहिलो भारत भ्रमण पाँच वा ५ दिने हुनेछ । राष्ट्रपतिको भारत भ्रमणको क्रममा सामान्य खालका दुईपक्षीय समझदारीसमेत हुनेगरी काम अघि बढेको छ । ‘ड्रग ट्राफिकिङ’ नियमन गर्ने विषयमा द्विपक्षीय सहमति र साना विकास परियोजना सहयोग सम्वन्धी सम्झौताहरुमा छलफल भइरहेको भ्रमणको तयारीमा संलग्न एक अधिकारीले बताए ।
भण्डारीको पहिलो विदेश भ्रमणको तयारीमा सरकार जुटेको तीन महिनापछि भ्रमण तय भएको राष्ट्रपति कार्यालयका अधिकारीहरु बताउँछन् । करिव एक वर्षअघि भ्रमणको सबै तयारी पूरा भए पनि अन्तिम समयमा स्थगित भएको थियो ।
त्यसपछि बनेको सरकारले भ्रमणको तिथि तय गर्न खोजे पनि सम्भव भएको थिएन। गत वैशाख २७ देखि हुनेगरी उक्त भ्रमण तय गरिएको ५ दिने औपचारिक भारत भ्रमण अन्तिम समयमा राजनीतिक कारण देखाउदै केपी ओली नेतृत्व सरकारले भ्रमण रद्द भएको जानकारी दिएको थियो ।