काठमाडौं । अमेरिकाबाट निष्काशनमा परेका नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले प्रहरीको जिम्मा लगाएको छ । उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमै नेपाल ल्याएर बुधबार बिहान छाडेको थियो ।विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईका अनुसार ८ जनालाई प्रहरीको जिम्मा लगाइएको छ।
डिपोर्ट हुनेमा एक महिला र सात जना पुरुष रहेको जनाइएको भएको छ । त्यसमा २२ वर्षीय युवक समेत रहेका छन्। यस्तै डिपोर्ट भएकी महिला ३५ वर्षकी छन् । डिपोर्ट भएकाहरुमा सबै भन्दा बढी उमेर भएका एक जना ४७ वर्षका छन् । डिपोर्ट हुनेहरूमा सुष्मा, लक्ष्मण, सुकुमार, हिमाल, मोहन, टोपबहादुर, कमल प्रकाश र तीर्थबहादुर नामका रहेको प्रहरी स्रोतले जनाएको छ । उनीहरुको थप पहिचान खुलाइएको छैन ।
उनीहरुमा मानवतस्करमार्फत अमेरिका गएको हुनसक्ने प्रहरीले सोधपुछका लागि उनीहरुलाई लगेको हो । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले सोधपुछ गरेर उनीहरुलाई परिवारको जिम्मा लगाउने तयारी गरेको छ । बुधबार नै नियमित उडानमार्फत अमेरिकाबाट निष्काशनमा परेका थप नेपालीहरु आउन लागेको अध्यागमन स्रोत बताउँछ । आठ जनालाई प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरो बबरमहलमा लगिएको छ ।
ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरले उनीहरुलाई कार्यालयमा राखेर सोधपुछ गरिने जानकारी दिए । ‘उहाँहरु अहिले हाम्रो कार्यालयमा आइपुग्नु भएको छ । अब हामी अमेरिका जाँदा कसरी जानु भयो, कसैले पीडित बनाएर ठगी गरेर पठाएको हो कि? भनेर सोधपुछ गर्छौँ र परिवारको जिम्मा लगाउँछौँ’, एसपी कुँवरले भने ।
उनीहरुलाई प्रहरीले कुनै कारबाही गर्ने उदेश्यले नभइ उनीहरु नै पीडित भएको हुन सक्ने र यसरी अवैध रुपमा अमेरिका पठाउने गिरोहको बारेमा खुल्न सक्ने भएकाले सोधपुछका लागि लगिएको प्रस्ट पारेको छ । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि यसअघि नै २७ जना नेपाली नेपाल फर्किसकेका छन्। डिपोर्ट भएका नेपालीलाई अमेरिकाको कानुन अनुसार अमेरिकाले नै कारबाही जरिवाना गर्ने भएकाले नेपालमा भने कुनै कारबाही हुने छैन।