बोआओ फोरमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले गरे यस्तो आग्रह

0
2032

काठमाडौ, १२ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तरराष्ट्रिय लगानीकर्तारुलाई नेपालमा लगानी बढाउन आग्रह गरेका छन् । चीनको हेइनान प्रान्तमा आयोजित बोआओ फोरमको उदघाटन सत्रलाई शनिबार बिहान सम्बोधन गर्दै उनले नेपालमा लगानी बढाउन आग्रह गरेका हुन् ।

‘म नेपालमा जलविद्धुत, पूर्वाधार विकास एवं पर्यटन लगायत विभिन्न क्षेत्रमा लगानीका लागि एशियाली व्यापारिक समुदायलाई आमन्त्रित गर्न चाहन्छु,’ उनले भने, ‘हामीसँग स्रोतहरुको समृद्ध आधारसँगै लगानीका लागि भर्जि्निटी एवं समान लाभको सम्भावना छ ।’

‘ग्लोबलाइनजेसन र स्वतन्त्र व्यापारः एशियाली दृष्टिकोण’ मूलनारा रहेको बोआओ फोरममा बोल्दै प्रधानमन्त्री प्रचण्डले व्यापार विकासको इञ्जिन भएको बताए । उनले नेपाल राजनीतिक कोषेढुंगा पार गरेर आर्थिक परिवर्तनको चरणमा प्रवेश गरेकाले अब नेपालको प्राथमिकता आर्थिक विकास एवं विकासको गति तीव्र बनाउने रहेको उनको भनाई थियो ।

ग्लोबलाइजेसनका लागि काम गर्ने देशका साथसाथ मिलेर अघि बढ्न तयार रहेको प्रधानमन्त्रीले बताए । ‘मेरो मान्यता छ कि यो बाटोमा अघि बढ्नका लागि हामीसँग पर्याप्त दूरदर्शिता, विशाल छाती एवं शाहस छ,’ उनले भने ।

उनले ग्लोबलाइजेसनमा समावेशिता मिसाउनुपर्ने सैद्धान्तिक प्रस्तावना समेत अघि सारेका छन् । विश्वव्यापीकरण अर्थात ग्लोबलाइजेसनले विश्वमा आर्थिक समृद्धि ल्याएको भएता पनि धेरै मानिसहरु यो समृद्धिबाट पछाडि छुटेको उनको भनाई थियो । यसलाई सच्याउनका लागि अब एशियाली मोडेलको ग्लोबलाइजेशनको अभ्यास गर्नुपर्ने उनको प्रस्ताव थियो ।

‘हामीले यो सुनिश्चित गर्नु छ कि ग्लोबलाइजेसन जो अधीक समावेशी र पुनर्जि्वित हुन्छ । ग्लोबलाइजेसन सबैका लागि विन–विनको स्थितिका अतिरिक्त विजेता र पराजितमा विभाजित गर्दैन,’ उनले भने, ‘ग्लोबलाइजेसनमा सफलता र स्थिरतालाई सामेल गर्नुपर्छ । हामीले अवसरको समानता एवं विश्वव्यापीकरणको लाभलाई पूर्ति गर्ने क्षमता सुनिश्चित गर्नुपर्छ ।’

ग्लोबलाइजेशनमा समावेशिता र साझापन मिसाउनुपर्ने बताए । कसैले जित्ने र कसैले हार्ने नभई सबैले जित महसुस गर्ने गरी यसको अभ्यास हुनुपर्ने प्रधानमन्त्री प्रचण्डले बताए ।

‘विश्वमा ग्लोबलाइजेसन एक व्यापक प्रयोगको शब्द बनेको छ, तर यो एकल शब्दको कुनै अर्थ हुँदैन,’ प्रधानमन्त्रीले भने, ‘यसका पछाडि विकास, प्रगति, समृद्धि र त्यसभन्दा बढी कनेक्टिभिटी, गतिशीलता र एकीकरणको अर्थ लुकेको छ ।’

पछिल्लो केही दशकयता ग्लोबलाइजेसन र अन्तरराष्ट्रिय व्यापारले मानिसको जीवनस्तरको विकासमा महत्वपूर्ण परिवर्तन ल्याउनुका साथै विकसित दुनियाँमा मौलिक परिवर्तनसमेत ल्याएको उनको विश्लेषण थियो ।

विश्वमा सन् १०९० सम्म ४७ प्रतिशतमा रहेको चरम गरीबी आज १४ प्रतिशतमा घट्नु ग्लोबलाइजेसनको उपलब्धिको एउटा उदारहण रहेको प्रचण्डले बताए ।

विश्वको सम्पन्नताका लागि ग्लोबलाइजेसन र स्वतन्त्र व्यापारको भूमिकालाई नकार्न नसकिने प्रचण्डले बताए । ग्लोबलाइजेसनको प्रतिफललाई साझा बनाउन नसकिएको दृश्य देखिइरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले यसका सीमाहरुलाई हटाउनुपर्ने सुझाव दिए ।

‘भूमण्डलीकरणको प्रक्रियामा एशियाले यसको योगदानको साथसाथ फल प्राप्त गरेको छ । तर, हामीले यो भुल्न हुँदैन कि एशियामा अहिले पनि कैयौं देशहरु छन्, जसलाई विश्वव्यापीकरणले लाभ प्रदान गर्न सकेको छैन,’ उनले भने, ‘अहिले पनि केही अवरोधहरु छन्, जसले ती देशमा सामान एवं सेवाको स्वतन्त्र प्रवाहमा बाधा र्पुयाइरहेका छन्, जो विकासको न्यून अवस्थामा छन् ।’

समावेशिता एशियाली संस्कृतिको मूलमै रहेको उनले बताए । एसिया सदिऔंदेखि विभिन्न देश, धर्म र सभ्यतामा एक दोस्रोका साथसाथ सहअस्थित्व रही आएको छ र समानरुपमा विकास हुँदै आएको उनको भनाई थियो ।

ग्लोबलाइजेसन एवं स्वतन्त्र व्यापारको बाटोमा अघि बढ्नेक्रम जारी राखेर पनि साथमा समानता सम्भव छ भन्दै प्रचण्डले यसलाई अझ सशक्त बनाउनुपर्ने बताए ।

२१ औं शताब्दीलाई एशियाको शताब्दी भन्ने गरिएको भन्दै उनले एशियाली मोडलको विश्वव्यापीकरण अभ्यास गर्नका लागि मोडलको निर्माण गर्नु पर्ने बताए । जुन मोडलले विचारको मुक्त प्रवाहलाई सक्षम गराउँदै व्यापारको अक्षुण सञ्जाल, एवं जितको स्थितिको स्थायी उदाहरण दिन सक्ने उनले बताए ।