काठमाडौं, १४ चैत्र । स्थानीय तह चुनावका लागि ६६ जिल्लामा मतदान स्थलको टुंगो लागेको छ । बाँकी ९ जिल्लाको टुंगो पनि छिटै लाग्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले गएको १० गतेसम्म सबै जिल्लाको मतदान केन्द्रको टुंगो लगाउने बताएपनि केही जिल्लामा दलहरुबिच सहमति हुन नसक्दा ढिलाई भएको हो ।
प्रदेश नम्बर २ का ६ जिल्ला तथा धादिङ, डोल्पा र बाजुराबाट मतदानस्थल तय हुन बाँकी छ । प्रदेश नम्बर २ का बारा र पर्सामा भने मतदान स्थलको टुंगो लागिसकेको आयोगले जनाएको छ । बाँकी जिल्लाको पनि केही दिनमै टुंगो लाग्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो ।
उहाँका अनुसार मतदाता नामावली र मतदान केन्द्रलाई एकैपटक अन्तिम रुप दिने तयारी छ । अहिले जिल्लाबाट प्रस्ताव भएर आएका मतदान स्थलको विवरण एक ठाउँमा राख्ने काम भइरहेको छ । यस्तै मतदाता नामावली अद्यावधिक गर्ने काम पनि भइरहेको शर्माले बताउनुभयो ।
अहिले आयोगको वेवसाइटमा भएको नामावली २०७० सालको संविधानसभा चुनावमा तयार पारिएको विवरण भएकाले त्यसपछि फोटोसहितको मतदाता नामावली भर्नेको नाम, ठेगाना र मतदान केन्द्र मिलाउने काम भइरहेको हो । २० गतेसम्म अन्तिम मतदाता नामावली र मतदान स्थलको टुंगो लगाउने आयोगको तयारी छ ।
यस्तै आयोगले मतदाता शिक्षाको लागि प्रशिक्षकलाई तालिम दिने काम पनि गरिरहेको छ । तालिम लिएका प्रशिक्षकले जिल्ला जिल्लामा अरु प्रशिक्षकलाई तालिम दिएपछि वैशाख पहिलो हप्तादेखि घरघरमा मतदाता शिक्षा सञ्चालन गर्ने आयोगको तयारी छ ।