चिनियाँ राष्ट्रपति सि जिन पिङलाई भेट्दै प्रचण्ड, चीनको अविश्वास कायमै

0
474

काठमाडौं, १४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सि जिन पिङबीच आज बेइजिङमा भेटवार्ता हुँदैछ । साताव्यापी चीन भ्रमणमा रहेका प्रचण्डले आज १५ मिनेटका लागि चिनियाँ राष्ट्रपतिसँग भेटवार्ता गर्न लागेका हुन् ।भेटवार्तामा दुई देशबीचको सम्बन्ध, चीनले प्रस्ताव गरेको वान बेल्ट वान रोडका सम्बन्ध तथा नेपालमा पश्चिमा देशको स्वतन्त्र तिब्बतसम्बन्धी चलखेलका विषयमा चिनियाँ राष्ट्रपतिले नेपालको धारणा माग्ने बुझिएको छ । प्रचण्डले सात महिनापछि चिनियाँ राष्ट्रपति सिलाई भेट्न लागेका हुन् ।

गत असोज मसान्तमा प्रचण्ड र सिबीच भारतको गोवामा संक्षिप्त भेटवार्ता भएको थियो । सो भेटवार्तामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी भएका थिए । गोवा भ्रमणबाट फर्केपछि प्रचण्डसँग चिनियाँ नेतृत्व सन्तुष्ट हुन नसकेको स्रोतले बताएको छ । सोही कारण चिनियाँ राष्ट्रपति सिले गर्ने भनेको नेपाल भ्रमण टर्दै गएको छ । गोवामा भएको ब्रिक्स सम्मेलनपछि भएको भेटमा प्रचण्डले चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीसँग त्रिदेशीय साझेदारीको अवधारणा लागू गर्न प्रस्ताव गरेका थिए ।

जुन कुरालाई चीनले त्यति महत्व दिएको छैन ।तर, चीनले नेपालले पहिले ‘वान बेल्ट वान रोड’ मा प्रतिबद्धता जनाउनुपर्ने अडान राख्दै आएको छ । भारतले दाबी गरेको भूभाग हुँदै चीनले युरोप तथा मध्यएसियासम्म जोड्ने विशाल सडक निर्माण गरेको छ । ‘वान बेल्ट वान रोड’ को अवधारणा त्यही हो । त्यसैले ‘वान बेल्ट वान रोड’ लाई नेपालले समर्थन नगरिदेओस् भन्ने भारतको चाहना हो । तर, सो अवधारणामा नेपाललाई जुनसुकै हालतमा समर्थनमा ल्याउने चिनियाँ पक्षको रणनीति छ ।

त्यही कारण चीनले प्रचण्डको भ्रमणलाई ‘राजकीय भ्रमण’ को सम्मान दिएन । प्रचण्ड चीन भ्रमणमा रहँदा त्यहाँका प्रधानमन्त्री लि खछियाङ अस्टे«लिया भ्रमणमा छन् । जुन कुराले प्रचण्डलाई उदासीन बनाएको छ । नेपाल भ्रमणमा आएका बेला प्रचण्डले चीनका रक्षामन्त्री चाङ क्वानवानसँग सो विषयमा कुराकानी गरेका थिए ।