धुवाँ धुलोबाट आँखालाई यसरी जोगाउनुहोस्

0
684

काठमाडौं, १४ चैत्र । काठमाडौंमा अहिले जताततै धुवाँधुलो बढेको छ । यसले वातावरणलाई त असर गरेकै छ नै । मानिसको स्वास्थ्यलाई पनि जोखिम बढाएको छ । धुवाँधुलोले आँखालाई झन् बढि असर गरिरहेको छ । आँखाको परेलामा धुलो जम्ने र त्यसले इन्फेक्सन गराउने गर्दछ । आँखाको किनारामा धुलो टाँसिदा आँखा सुनिन सक्छ । धुलोले आँखाको बाहिरी भागको पातलो झिल्लीमा मासु पलाउने समस्या पनि देखिएको छ । यो सूर्यको हनिकारक किरण र धुलोका कारण आँखामा मासु पलाउने समस्या आएको हो । यो धेरै मानिसमा देखा पर्ने गरेको छ । धुलो र प्रदुषणले गर्दा आँखाको एलर्जी अहिले आम नागरिकको समस्या भएको छ ।

यसले मुख्य रोगका रुपमा आँखाको एलर्जी समस्या निम्त्याएको देखिन्छ । अस्पतालमा आउने धेरै बिरामीमा आँखा चिलाउने तथा विझाउने समस्या देखिएको छ । धुलोका कणले आँखा रातो हुने, चिलाउने, सुनिने हुने गर्दछ भने यसले सुख्खा पनि हुने गरेको पाईन्छ । मानिसको आँखामा हुने सुख्खापन एउटा विकराल समस्याको रुपमा रहेको छ । धुलोले आँखामा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर गरेको पाईन्छ । आँखाको विभिन्न भागमा एलर्जी गराउने गरेको छ । एलर्जी भएको ठाउँमा व्याक्टेरियल संक्रमण हुने संभावनासमेत छ ।

आँखाको ढकनीमा बारम्बार आनो आउने समस्या पनि धूलो र प्रदुषणका कारणले हुने गरेको हो । धुलोका कारण आँसु निकाल्नुपर्ने आँखाको ग्रन्थीले काम नगर्ने वा कम काम गर्ने र आँसु राम्रोसँग ननिक्लनाले आँखामा संक्रमण हुने गरेको छ । आँसु निकाल्ने ग्रन्थीको प्वाल धुलोले बन्द हुँदा संक्रमण हुन सक्ने संभावना रहन्छ ।

धुलो आँखामा टाँसिदा आँखा चिलाउने, आँखा पोल्ने, रातो हुने कचेरा निक्लने गरेको छ । यस्तो समस्या विकराल रुपमा देखिरहेको छ । यस्ता समस्या र सडकमा उड्ने धुलोबाट आँखालाई बचाउन चस्मा लगाउनुपर्छ । घरबाट बाहिर निस्कँदा चस्मा अनिवार्य रुपमा लगाउनुपर्छ । चस्मा लगाउन नपर्नेले पनि सनग्लास लगाउँदा आँखालाई केही हदसम्म बचाउन सकिन्छ । नियमित रुपमा दैनिक बिहान बेलुका आँखालाई सफा पानीले धुने गर्नुपर्दछ । साथै आँखालाई समय समयमा जाँच गराई राख्नु पनि आवश्यक हुन्छ ।

कतिपयको आँखामा सुख्खापन धुलोका कारण हुने गरेको छ । आँखामा सुख्खापन भएर उपचार गराउनु भन्दा पनि यसलाई हुनै नदिनु राम्रो हुन्छ । जुन कारणले आँखामा सुख्खापन भएको हो त्यसको पहिचान गरेर त्यसबाट टाढा रहनु राम्रो हुन्छ । धुलोका कारण हुने सुख्खापन हो भने घर बाहिर निस्कँदा आँखा ढाक्ने गरी चस्मा लगाउनु पर्छ । बाहिर निस्कँदा धूलोबाट बच्ने राम्रो उपाय नै चश्मा नै हो ।

– डा. अरुणप्रसाद ढुंगाना