काठमाडौं, १५ चैत्र । पटक पटक स्थगित हुदै आएको काठमाडौको प्रदशनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)मा मंगलबार विहानबाट मतदान भइरहेको छ । केही विद्यार्थी संगठनको विरोधकाबीच विहान नौ बजेदेखि मतदान भइरहेको छ ।
सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी), नयाँ शक्ति सम्बद्ध विद्यार्थी संगठन र संघीय समाजवादी फोरम निकट विद्यार्थी संगठनले भने मतदान बहिष्कार गरेका छन् । उनीहरुले विहानैदेखि निर्वाचनकाविरुद्धमा क्याम्पस परिसर बाहिर प्रदर्शनीमार्गमा प्रदर्शन गरिरहेका छन् । उनीहरुले आफूहरुको विरोधकाबीच मतदान गरिएको भन्दै प्रदर्शन गरिरहेका छन् । प्रहरी र क्रान्तिकारी विद्यार्थीबीच पटक पटक झडप भएको छ ।
प्रहरीले कडा सुरक्षा दिएर मतदान थालिएपछि आक्रोशित सरकारको नेतृत्व गरिरहेका माओवादी केन्द्र सम्बद्ध विद्यार्थीहरुले प्रहरीलाई लक्षित गरी पेट्रोल बम प्रहार गरेका छन् । सुरक्षा घेरा बनाएर बसेका प्रहरी भन्दा भित्र रहेका प्रहरीलाई लक्षित गरी प्रहार गरिएको पेट्रोल बम प्रहार गरिउको थियो । प्रहरीको खुट्टामै आगो बले पनि क्षति भने भएको छैन ।
पेट्रोल बम प्रहार गरेपछि प्रहरीले विरोधमा उत्रिएका विद्यार्थीहरुमाथि लाठीचार्ज गरेको थियो । केहीबेर दुई पक्षबीच झडप भएपछि प्रहरी सुरक्षा बढाएर आन्दोलनरत विद्यार्थीहरुलाई लखेटेका थिए ।
प्रहरी सुरक्षाकाबीच क्याम्पसमा विहान नौ बजेदेखि मतदान चलिरहेको छ । मतदान बेलुका ५ बजेसम्म जारी रहने निर्वाचन समितिले जनाएको छ ।
विद्यार्थी संगठनहरुको विवाद र स्थानीय तह निर्वाचन आचार संहिताको कारण दुई पटक स्थगित निर्वाचन, सर्वोच्च अदालतको आदेशपछि गरिएको हो ।