काठमाडौं, १६ चैत्र । भारतीय सेनाध्यक्ष विपीन रावतलाई आज नेपालको मानार्थ महारथीको पदवीको सम्मान प्रदान गरिदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो ४ बजे मानार्थ पदवीले सम्मान गर्ने कार्यक्रम रहेको छ। हजो चारदिने भ्रमणका लागि उहाँ नेपाल आउनु भएको छ ।
नेपाली सेनाको मानार्थ महारथीको सम्मानका लागि उहाँ नेपाल आउन भएको हो । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाको परमाधिपति पनि हुनुहुन्छ । नवनियुक्त भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी तथा नेपाली सेनाका नवनियुक्त प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ ।
भारतीय सेनाको २७ औं सेनाध्यक्षका रुपमा रावतको सन् २०१६ डिसेम्बर ३१ मा नियुक्ति हुनु भएको थियो । नेपालमा रहँदा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री बालकृष्ण खाँण, समकक्षी नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भारतीय सेनाध्यक्षले नेपाल भ्रमणका क्रममा पशुपतिनाथ र मुक्तिनाथको दर्शन गर्नुका साथै पोखरास्थित भारतीय सैनिकको पेन्सन क्याम्पको समेत भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।