काठमाडौं, १६ चैत्र । आज चैत १६ गते, पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासंघ आफ्नो स्थापनाको ६२औं वर्षमा प्रवेश गरेको छ । महासंघको स्थापना २०१२ चैत १६ गते भएको हो । महासंघका संस्थापक सभापति कृष्णप्रसाद भट्टराई हुनुहुन्छ । स्थापना दिवसको अवसरमा अध्यक्ष डा महेन्द्र विष्टले मुलुकमा नागरिक अधिकार, पत्रकारिताको विकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षा र श्रमजीवी पत्रकारको हकहितका लागि अग्रजहरूले सुरू गरेको प्रयासलाई रत्तिभर विचलित नभई महासंघको उद्देश्य हासिल गर्न अझ सशक्तरूपमा लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
नेपाली सञ्चार क्षेत्र अहिले विभिन्न अवसर र चुनौतीको बीचबाट गुज्रिरहेको भन्दै विविध समस्याका लागि सबै एक हुनुपर्ने र राज्यले सहयोग गर्नुपर्ने बताउनु भएको छ । संविधानसभाबाट जारी भएको नयाँ संविधान बमोजिम मुलुक अहिले स्थानीय तहको निर्वाचनको संघारमा छ भने नेपाल पत्रकार महासंघ पनि २५औं महाधिवेशनको पूर्वतयारीमा छ । राजनीतिक संक्रमण र नयाँ नेतृत्व चयनको यस घडीमा अझ संवेदनशील भएर आफ्नो जिम्मेवारी बहन गर्न सबै पत्रकारहरु लाग्नुपर्ने पनि उहाँले बताउनु भएको छ । स्थापना दिवसका अवसरमा आज दिउँसो एक बजे महासंघले केन्द्रीय कार्यालय सञ्चारग्राम काठमाडौमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेकाले सहभागिताका लागि सम्पूर्ण पत्रकार, मिडिया व्यवस्थापन, पत्रकारिता सम्वद्ध संघसंस्था र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको क्षेत्रमा क्रियाशील अगुवा संघसंगठनको नेतृत्वलाई हार्दिक आमन्त्रण पनि अध्यक्ष डा विष्टले गर्नुभएको छ ।
स्थापना दिवसको अवसरमा रेडियो वितरण
नेपाल पत्रकार महासँघको ६२औँ स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासँघ प्यूठान शाखाले फोप्लीका बाढीपहिरो पिडितका लागि ८० सेट रेडियो वितरण गर्दैछ । रेडियोको माध्यमबाट जनचेतना फैलिने भन्दै शाखाले रेडियो सेट वितरण गर्ने भएको हो । गत साउन महिनाको ११ र १२ गतेको बाढीपहिरोमा परेका र जिल्ला प्रशासन कार्यालय प्यूठानको तथ्याँकको “क”वर्गमा परेका बाढीपहिरो पिडितका लागि रेडियो वितरण गर्ने शाखाका सचिव विजयसिँह भारतीले जानकारी दिनुभयो । गत साउन महिनाको ११ र १२ गतेको बाढीपहिरो फोप्लीका गाविसका २८ जनाले ज्यान गुमाएका थिए भने सयौँ परिवार विस्थापित भएका छन् ।