बैतडीमा अज्ञात समूहद्वारा विद्यालयमा आगजनी

0
676

बैतडी, १६ चैत्र । बैतडीमा नचिनेका मानिसको समूहले विद्यालयमा आगजनी गर्दा चारवटा कोठा जलेर नष्ट भएका छन् । पुरचौडी नगरपालिका–१० विजयपुर स्थित रौलेश्वर माविमा नचिनेका मानिसको समूहले मंगलबार राति आगजनी गरेको हो ।
आगजनी गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट विद्यालयको ५ कोठे भवनको चारवटा कोठा जलेर पूर्ण रुपमा नष्ट भएको पुरघाट प्रहरीचौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक मानबहादुर बोहराले बताउनुभयो । आगजनीबाट विद्यालयको कार्यालयका सबै कागजात पनि जलेर नष्ट भएका छन् ।

आगजनी गरेको ठाउँमा गुड भिजन पार्टी भारत नामको पर्चा भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक कमल बिष्टले जानकारी दिए ।

गुड भिजन पार्टी भारत नामको पर्चामा विद्यालयका प्रधानाध्यापक पदमबहादुर बिष्टले अनियमितता गरेको, शिक्षकलाई अन्य काममा लगाएको, विद्यालयको पढाईमा ध्यान नदिएको लगायतका आरोप लगाइएको प्रहरी निरीक्षक बिष्टले बताउनुभयो । घटनाका बिषयमा अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।