भारतमा पुराना नोट साट्ने आज अन्तिम दिन

0
587

काठमाडौं, १८ चैत्र । भारतमा पुराना पाँच सय र एक हजारको नोट साट्न गरिएको विशेष व्यवस्था शुक्रवार सकिंदै गर्दा बैंकहररूमा नोट साट्नेको घुइँचो बढेको छ । बैक तथा अन्य निकायहरूमा पुराना नोट साट्ने समयसीमा डिसेम्बर ३० मा नै सकिए पनि रिजर्भ बैंक अफ इण्डियाले तोकेका केही शाखाहरूमा पहिला नोट साट्न नसक्नुका पर्याप्त कारण देखाएर मार्च ३१ सम्म साट्न सकिने घोषणा गरेको थियो ।

शुक्रवारदेखि प्रतिवन्धित ५ सय र एक हजारको दशवटा भन्दा बढी नोटहरु बोकेर हिँडेमा अपराध ठहरिने कानुन भारत सरकारले यसअघि नै पारित गरिसकेको छ। तर, भारतभरि नै जम्मा ५ वटा रिजर्भ बैंक अफ इण्डियाको शाखाहरूलाई पुरानो नोट साट्न सक्ने अधिकारी दिइएको छ। मुम्बई, कलकत्ता, नागपुर र चेन्नईमा मात्र शुक्रबारसम्म नोट साट्न सकिने व्यवस्था गरिएको छ। विशेषतस् नोटबन्धीको समयमा मुलुक वाहिर रहेका भारतीय नागरिक तथा अन्यलाई लक्षित गरेर सो सुविधा बढाइएको थियो ।

त्यसैगरी गैरआवासीय भारतीय नागरिकले भने जुन ३० सम्म पुराना नोटहरु साट्न सक्नेछन्। तर पुराना नोटहरु साटिने होइन खातमा जम्मा हुनेछ। गैरआवसीय भारतीय नागरिकहरुको लागि विमानस्थालको भन्सार कार्यालयको सिफारिस आवश्यक पर्दछ। त्यसैगरी यस अगाडी प्रक्रिया पूरा गरेर आफ्नो नोट साट्न नसकेकाहरु पनि अन्तिम प्रयासका लागि लाइनमा वसेका कारण बैंकमा भीड बढेको भारतीय अधिकारीहरुले वताएका छन्। विशेषगरी मुम्वई र दिल्लीमा रहेका आरविआइका शाखाहरुमा लामो लाइन रहेको छ।

गत नोभेम्वर ८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अकस्मात् ५ सय र एक हजारका नोटमा प्रतिबन्ध लगाएपछि स्रोत खुलाएर पुराना नोट साट्न सकिने व्यवस्था गरेको हो। जसका कारण गैरकानुनी रूपमा पैसा जम्मा गरेका र स्रोत नखुलेका नोट साट्न कठिनाइ उत्पन्न भएको छ। यति मात्र होइन, त्यसपछि बैंकका खाताहरुमा अस्वाभाविक रूपमा रकम जम्मा हुन थालेको भन्दै १८ लाख भन्दा बढी बैंक खाताहरूको बारेमा अहिले भारतमा अनुसन्धान भइरहेको छ । जसले गर्दा लाखौ मान्छे करको दायरामा आइरहेका छन् । पछिल्लो समयमा मार्च ३१ को समयसिमा अपर्याप्त भएको भन्दै थप केही समय उपलब्ध गराउन माग गर्दै भारतको सर्वोच्च अदालतमा एक रिट परेको छ। झण्डै ८६ प्रतिशत नगद ओगट्ने ५०० र १००० को नोटलाई प्रतिबन्ध लगाइएको थियो ।