काठमाडौं, १९ चैत्र । मुलुकको सबैभन्दा पुरानो र ठूलो सरकारी उपचार केन्द्र वीर अस्पतालमा क्यान्सरका विरामी डेढ वर्षदेखि रेडियोथेरापी मेसिन किन्ने कमिसनको चक्करका कारण उपचारबाट वञ्चित भएका छन् । क्यान्सरका विरामीलाई रेडियोथेरापीद्वारा उपचार गर्ने कोबोल्ट ६० मेसिन बिग्रेको १९ महिना भइसकेको छ ।
त्यसयता वीरका बिरामी महंगो उपचारका लागि अन्य अस्पतालमा जान बाध्य छन्। वीर अस्पतालले ५ हजार रुपैयाँमा रेडियोथेरापी सेवा दिँदै आएको छ। भक्तपुर क्यान्सर अस्पतालले यही सेवा दिन २५ हजार रुपैयाँ लिन्छ भने निजी अस्पतालले ७५ हजारदेखि १ लाख २५ हजार रुपैयाँसम्म असुल्दै आएका छन्। वीर अस्पतालको कोबाल्ट मेसिन बिग्रनुअघि प्रत्येक दिन ७०–८० जना क्यान्सर जाँच र उपचारका लागि आउने गर्थे । ’ अचेल प्रत्येक दिन ३०(४० जना क्यान्सर जाँचका लागि आउने गरेका छन्’ क्लिनिकल अंकोलोजी डिपार्टमेन्ट प्रमुख सहायक प्राध्यापक डा. विवेक आचार्यले भने ’ क्यान्सरका बिरामीकव उपचारका निम्ति रेडियोथेरापी मेसिन हामीसँग छैन जुन हामीलाई तत्कालै आवश्यक छ ।’
वीरले क्यानडामा बनेको कोबाल्ट ६० मेसिन १० वर्षको वारेन्टीसहित २०४८ सालमा खरिद गरेको थियो। वीर अन्तर्गतको नेसनल एकेडेमी अफ मेडिकल साइन्स (न्याम्स) मा यसलाई प्रयोग गरिएको थियो। अहिले पनि विशेषज्ञले क्यानाडाली कम्पनीको कोबाल्ट ६० मेसिन १२ करोड रुपैयाँमा किन्न जोड दिइरहेका छन् । स्रोतका अनुसार न्याम्सका उपकुलपति डा. गणेशमान गुरुङले भारतीय कम्पनी भावाट्रोनको मेसिन ११ करोड ८० लाख रुपैयाँमा खरिद गर्न दबाब दिइरहेका छन्। विशेषज्ञ टोलीले भने कमसल यो मेसिन खरिदलाई स्वीकृत दिन चाहेका छैनन्। विशेषज्ञका अनुसार यो कम गुणस्तरको र अस्पतालका निम्ति कामदलाग्दो छैन। यो मेसिनको निर्माता भारतीय कम्पनीले मंगोलियाका अस्पताललाई उपहार दिए पनि यसको कार्यक्षमताबाट त्यहाँका चिकित्सक सन्तुष्ट हुन नसकेको जानकारी समेत स्रोतले दिएको छ।
भारतीय मेसिन अमेरिकी खाद्य तथा औषधी प्रशासन (एफडीए) को स्वीकृतिका साथै विशेषज्ञले तयार पारेको मापदण्ड अनुरुप छैन। वीरका चिकित्सकका अनुसार भारतीय मेसिनको गुणस्तर नपुग्दा एफडीए लाइसेन्ससहितको अनुमति नपाएको हो। ’ यसको मूल्य अत्यावश्यक उपकरणसहित ६ देखि ७ करोड रुपैयाँ भन्दा बढी पर्दैन। नेपाल सरकारले भारत सरकारसँग आग्रह गर्ने हो भने सित्तैमा पाउन पनि सकिन्छ’ स्रोतले भन्यो। उपकुलपति गुरुङले क्यानाडाली कम्पनी टेण्डर प्रक्रियामा सहभागी नभएको बताए ।