३४ कर्मचारीले त्यागे ‘पीआर’

0
447

काठमाडौं, १९ चैत्र । विदेशी मुलुकको स्थायी बसोबासको अनुमति पाएका ३४ कर्मचारीले त्यस्तो अनुमति त्याग गरेका छन्। निजामती सेवा ऐन संशोधनपछि डीभी, पीआर र ग्रीनकार्ड लिएको घोषणा गरेका ७३ मध्ये ३४ कर्मचारीले स्थायी बसोबासको अनुमति त्याग गरेको जानकारी सामान्य प्रशासन मन्त्रालयमा पेस गरेका छन्। निजामती सेवा ऐन २०४९ को चौथो संशोधनले विदेशी मुलुकको स्थायी बसोबासको अनुमति लिएका नागरिकलाई स्थायी बसोबास अनुमति त्याग गर्न १५ दिनको समय दिएको थियो । ऐन कार्यान्वयनमा आएको १५ दिनभित्र अनुमति त्याग वा राजीनामाको विकल्पमा निर्णय नलिए सम्बन्धित कर्मचारी बर्खास्त गर्ने व्यवस्था ऐनमा थियो। मन्त्रालयले संसद्को राज्य व्यवस्था समितिमा पेस गरेको विवरणअनुुसार ऐन जारीपछि डीभी, पीआर तथा ग्रीनकार्ड भएको घोषणा ७३ कर्मचारीले गरेका थिए ।

यसमा निजामती सेवा, सुरक्षा सेवाका समेत कर्मचारी थिए। घोषणा गरेकामध्ये डीभी, पीआर तथा ग्रीनकार्ड त्यागिसकेका जानकारी ३४ जनाले मन्त्रालयलाई दिएका छन्। त्याग गर्न चाहेको जानकारी ६ कर्मचारीले मन्त्रालयलाई दिएका थिए, तर, त्याग गरिसकेको विवरण भने प्राप्त नभएको जानकारी मन्त्रालयले समितिमा दिएको छ। ऐन कार्यान्वयनपछि डीभी, पीआर र ग्रीनकार्डका कारण १६ कर्मचारीले राजीनामा दिएको मन्त्रालयको तथ्याङ्क छ। स्थायी बसोबासको अनुमतिपत्र भएको घोषणा गरेका तर, त्याग गरेको जानकारी नदिएका थप १६ जना कर्मचारी रहेको मन्त्रालयले समितिमा पेस गरेको विवरणमा छ।