६ ठाउँमा ‘स्मार्ट सिटी’ पूर्वाधार निर्माण गर्न २० अर्ब रुपैयाँ

0
488

काठमाडौं, १९ चैत्र । सरकारले स्मार्ट सिटी विकास गर्न छनोट गरेका ६ स्थानमा न्यूनतम पूर्वाधार निर्माणका लागि करिब २० अर्ब रुपैयाँ लगानी आवश्यक देखिएको छ । छनोटमा परेका स्थानमध्ये न्यूनतम ३ देखि अधिकतम ५ अर्ब रुपैयाँ प्रारम्भिक पूर्वाधार तयारीका लागि खर्च हुने सहरी विकास मन्त्रालय, आवास तथा भवन महाशाखा प्रमुख डा. रमेशप्रसाद सिंहले जानकारी दिए । सिंहका अनुसार स्मार्ट सिटी विकासका लागि छनोट भएको पालुङटार क्षेधमा सबभन्दा धेरै ५ अर्ब रुपैयाँ प्रारम्भिक पूर्वाधार लगानी गर्नेछ। ‘त्यस्तै अन्य स्थानमा औसतमा ३ अर्ब रुपैयाँको दरले खर्च हुने देखिएको छ’, उनले भने । सरकारले पालुङटार, निजगढ, लुम्बिनी, दैलेखको दुल्ली, स्याङ्जाको वालिङ र डडेलधुराको अमरगढी रहेका छन् ।

छनोट भएका स्थानमध्ये पालुङटार, निजगढ र लुम्बिनीमा सम्भाव्यता र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीको कामसमेत सुरु गरिएको महाशाखाका प्रमुख सिंहले बताए। ‘हामी विस्तृत परियोजना प्रतिवेदन तयारीका लागि परामर्शदाता छनोटको अन्तिम तयारीमा छौं’, उनले भने। त्यस्तै देशभर १० स्थानमा स्मार्ट सिटी विकास गर्ने घोषणा गरे पनि अझै चार स्थान भने छनोट प्रक्रियामा रहेको महाशाखा प्रमुख सिंहले जानकारी दिए।

सरकारले २९ असार २०७२ मा ल्याएको ०७२्७३ को बजेटमा पहिलोपटक स्मार्ट सिटी निर्माण गर्ने उल्लेख गरेको थियो । तत्कालीन अर्थमन्त्री डा.रामशरण महतले प्रस्तुत गरेको बजेटको ९०औं बुँदामा काठमाडौं उपत्यका, लुम्बिनी र निजगढमा गरी तीन स्थानलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने बताइएको छ। त्यसका लागि गुरुयोजना तयार गरेर स्मार्ट सिटी विकास कार्यान्वयन गरिने भनिएको छ ।