आजदेखि नेपालमा यूरो–४ मापदण्डको पेट्रोलियम पदार्थ आयात हुने

0
417

काठमाडौं, १९ चैत्र । नेपालमा भारतबाट आजदेखि युरो–४ स्ट्यान्डर्ड पेट्रोलियम पदार्थ आयात हुने भएको छ । भारतबाट आजदेखि पूर्णरुपमा युरो–४ को तेल आयात गरिने भएको हो । यसअघि नेपालमा भारतबाट युरो–थ्री स्ट्याण्डर्डको तेल मात्रै आउने गरेको थियो ।

भारतले युरो–थ्री तेल विस्थापन गरी आफ्ना रिफाइनरीहरुबाट पूर्ण क्षमतामा युरो–४ मापदण्डको तेल प्रशोधन गर्न सुरू गरेकाले नेपालले पनि त्यसको लाभ लिन पाउने भएको हो ।

नेपाल आयल निगमका प्रवक्ता सीताराम पोखरेलले आजदेखि पेट्रोल, डिजल, मट्टितेल आयात गर्न लागिएको जानकारी दिनुभयो ।

भारतले सन् २०२० बाट युरो–६ मापदण्डको तेल प्रशोधन गर्ने योजना बनाएको छ । अहिले देशभरका कच्चा तेलको प्रशोधन केन्द्रमा उसले युरो–४ स्तरको तेल उत्पादन गर्न सुरू गरेको छ ।

यूरो– मापदण्डको तेलले सवारीको धुवाँलाई कम गर्न सहयोगी हुने बताइन्छ । यो मापदण्डको तेलले न्यून परिमाणमा प्रदूषण उत्सर्जन गर्ने भएकाले प्रभावकारी हुने जनाइएको छ ।

युरो–फोर मापदण्डको इन्धनमा सल्फरको मात्रा कम हुने भएकाले सवारीसाधनको कार्य क्षमता पनि बढ्दछ ।