नेपालगञ्ज, १९ चैत्र । कामका लागि भारत गएकाहरू निर्वाचनको समय नजिकिँदै गर्दा घर फर्किन थालेका छन्। स्थानीय तहको निर्वाचन हुन लागेको खबर पाएपछि घर फर्किएको साविक दहचौर गाविस–३, सुर्खेतका २९ वर्षीय टेकबहादुर कठायतले बताए। उनी पहिलो पटक स्थानीय निर्वाचनमा सहभागी हुँदैछन्। स्थानीय तहको निर्वाचनमा पहिलो पटक सहभागी हुन पाउने भएपछि उनी निकै उत्साहित देखिन्छन्। ‘मेरो एक भोटले गाउँको विकासमा टेवा पुग्छ भने आउनै र्पयो नि! त्यसैले मताधिकार प्रयोग गर्न काम छोडेर घर फर्कियौं,’ उनले भने, ‘मेरै कारण अयोग्य व्यक्ति गाउँपालिका र वडाको प्रतिनिधि नचुनियोस्।’ २०५४ सालमा स्थानीय तहको निर्वाचन हुँदा कठायत ८ वर्षका थिए ।
‘पछिल्लो पटक भएको स्थानीय निकाय निर्वाचनको याद सपना जस्तै भएको छ, यसपालि मज्जाले अनुभव गरिन्छ,’ जमुनहा नाका हुँदै शुक्रबार बिहान नेपाल प्रवेश गर्दैगर्दा उनले भने। यस्तै साविक घाझरी पिपल गाविस–९, का तिलक परियारको साथमा २१ जनाको टोली भारत देहरादुनबाट फर्किएको छ । भतिजा निमबहादुर विक गाउँपालिकाको वडा सदस्य पदका लागि उम्मेदवार बन्ने भएपछि नेपाल आएको उनले बताए । ‘प्रचार प्रसार गर्न जसरी भएपनि आउनुपर्यो भनेर गाउँबाट फोन गयो, फोन गएपछि बस्न मन लागेन, हतार–हतार फर्कियौँ,’ उनले भने। उनले वैशाख ३१ गते हुन लागेको निर्वाचनमा ‘हाम्रोभन्दा राम्रो मान्छे’ लाई जिताउने बताए।
‘हामीलाई विकास चाहिएको छ, त्यसका लागि राम्रो मान्छेलाई जिताउनु पर्छ,’ परियारले भने। साविक लेखफर्सा गाविस–५, सुर्खेतका वीरभान सुनारसँगै उनका १६ जना साथी शुक्रबार नै भारतबाट फर्किएका छन् । उनले स्थानीय तहको निर्वाचन हुन लागेको खबर पाएपछि मतदानका लागि नेपाल आएको बताए। निर्वाचन हुन लागेको थाहा पाए पनि गाउँपालिकाको नाम र वडाबारे जानकारी नभएको बताए। उनले भने, ‘निर्वाचनमा सहभागी हुन आउनु र्पयो भनेर घरपरिवारले भनेपछि फर्किएका हौं ।’ निर्वाचनको मिति नजिकिएपछि भारतमा भएका नेपाली आउने क्रम ह्वात्तै बढेको भारतबाट नेपाल आउनेहरूले बताएका छन् ।
निर्वाचनमा सहभागी हुन धेरै नेपाली आइसकेको र आउने क्रम जारी रहेको भारतबाट नेपाल फर्किदै गरेका घाझरी पिपल–७, सल्यानका गोपाल परियारले बताए। उनले नेपाली घर फर्किन थालेपछि आफूलाई भारतमा बस्न मन नलागेको बताए। ‘स्थानीय तहको निर्वाचनमा सहभागी हुन एकसाथ घर फर्किन थालेपछि त्यहाँ बस्न मन लागेन,’ उनले भने, ‘कामका लागि सिमला, कुल्लु, देहरादुनलगायत क्षेत्रमा रहेकाहरू घर फर्किने क्रम जारी छ।’ इलाका प्रहरी कार्यालय जमुनहाका इन्चार्ज प्रहरी नायब निरीक्षक सुधीर खड्काले भारतबाट नेपाल फर्किनेहरूको संख्या बढेको बताए। उनले पछिल्लो समय दैनिक ४ देखि ५ सय जना भारतबाट नेपाल आउने गरेको जानकारी दिए। ‘पहिले दैनिक ४०–५० जना आउँथे, अहिले तेब्बर छ,’ खड्काले भने। नेपाल फर्किनेमा पहाडी जिल्लाका बढी भएको उनले जानकारी दिए।