प्रचण्ड इतिहासकै भ्रष्ट सरकार भएको बाबुरामको आरोप : प्रचण्ड सरकार मौन

0
752

काठमाडौं, २१ चैत । तीस वर्षभन्दा बढी समय एउटै पार्टीमा रहेर राजनीति गरेका डा.बाबुराम भट्टराईले पुष्पकमल दाहाल प्रचण्डको सरकारलाई इतिहासकै ‘भ्रष्ट सरकार’ को उपमा दिएका छन् । नयाँ राजनीतिक शक्तिहरूको उदयलाई छेक्न दलीय निर्वाचन चिन्ह नदिने गरी कानुन बनाएको भन्दै बाबुरामले प्रचण्डलाई इतिहासकै ‘भ्रष्ट सरकार’ भनी आरोप लगाएका हुन् । सोमबार बिहानै ट्विट गर्दै दलीय निर्वाचन चिन्ह नदिने गरी बनाएको कानुन खारेज गर्न भन्दै बाबुरामले ७५ रै जिल्ला निर्वाचन कार्यालयमा धर्ना दिन आह्वान समेत गरेका छन् ।

‘नेपाली इतिहासकै सबभन्दा भ्रष्ट प्रचण्ड सरकारले नयाँ राजनीतिक शक्तिहरूको उदयलाई छेक्न दलीय निर्वाचन चिन्ह नदिने गरी बनाएको कानुन खारेज गर्न आज चैत २१ गते देशका ७५ वटै जिल्ला निर्वाचन कार्यालयमा धर्ना दिऊँ ! निर्वाचन आयोगले सबै दललाई साथ लिएर चुनाव गरोस् !’ बाबुरामले सामाजिक सञ्जालमा लेखेका छन् ।

तर, बाबुरामले प्रचण्ड सरकारले के के विषयमा भ्रष्टाचार गर्यो भनेर उल्लेख गरेका छैनन् । केही अगाडि उनले प्रचण्डले आफ्ना पार्टीका कार्यकर्तालाई चुनावको मुखमा करोडौं रकम बाँडेको आरोप लगाएका थिए । त्यति मात्र होइन, एनसेलले नेपाल सरकारलाई तिर्नुपर्ने ३३ अर्ब रुपैयाँमा प्रधानमन्त्री प्रचण्डले कमिसन लिई सो रकम निर्वाचनमा परिचालनसमेत गरेको दाबी गरेका थिए । तर, बाबुरामको सो आरोपको माओवादी केन्द्र र प्रचण्डले समेत कुनै खण्डन गरेका छैनन् ।