मध्यरातमा ‘नर्क’बाट भागेकी एक नेपाली चेलीको दर्दनाक कथा

0
728

काठमाडौं, २२ चैत्र । रातको एक बजेको थियो । बाँके कोहलपुरकी २० वर्षीया गोमा (नाम परिवर्तन) ले घरको सबै काम भ्याइसकेकी थिइन् । घरको काम सक्दा सधैँ रातको एक बज्थ्यो। त्यसपछि उनी सुत्न जान्थिन् । तर, त्यसदिन (२०७३ फागुन १९) उनलाई सुत्नु थिएन । उनले आफू सुत्ने कोठाको ढोका लगाइन् र धमाधम आफ्ना कपडा पट्याउँदै झोलामा प्याक गरिन् । उनी थिइन् साउदी अरेबियाको हाफर अल(बेथनस्थित एक घरमा । एउटा कुनामा झोला राखेर उनी भुँइतालाबाट माथिल्लो तलामा गइन् । साहु–साहुनी, उनीहरुका छोराछोरी मस्त निद्रामा थिए । उनले यही खोजेकी थिइन् । बिस्तारै भुइँतलामा झरिन् र बुर्का लगाइन् ।

त्यसपछि कपडा पोको पारेको झोला च्यापी आँगनमा निस्किइन्। कसैले देख्ला कि भनेर वरपर हेरिन्। कोही थिएन उनलाई देख्ने। बिस्तारै गेट खोलिन् र बाहिरिन्। सडक सुनसान थियो। सडकबत्ती एकसुरमा बलिरहेका थिए । दुई सय मिटरजति पर एउटा पुरुष उभिएको देखिन्। पुरुषको आडमा एउटा गाडी पनि थियो। उनी स्वास रोकेर ती पुरुषतर्फ दौडिइन्। पछाडि फर्केर हेर्ने आँट उनमा थिएन। ’ए तिमी आयौ बैनी ? म तिमी आएनौ भनेर झण्डै फर्किसकेको थिएँ,’ गाडीको ढोका खोल्दै ती पुरुषले भने। उनको बोली निस्केन । एकछिनपछि मात्र बोली फुट्यो, ’दाइ, छिटो हिँड्नोस् । साहुले थाहा पाए भने पुलिसलाई खबर गर्छन्।’ उनीहरु दमामतर्फ हुइँकिए ।