काठमाडौं, २३ चैत्र । गएको वर्ष असम्भव मानिएको प्रिमियर लिगको उपाधि दिलाउने प्रशिक्षक क्लाउडियो रानिएरीलाई बर्खास्त गरेपछिका खेलमा राम्रो प्रदर्शन गर्दै आएको लेस्टर सिटीले त्यसलाई निरन्तरता दिएको छ । लिग अन्तर्गत मंगलबार राति भएको खेलमा लेस्टर सिटीले प्रशिक्षक क्रेग शेक्सपियरको प्रशिक्षणमा विजयी यात्रा कायम राख्यो । घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीले सन्डरल्याण्डलाई २–० ले हरायो ।
उसको जितमा इस्लामा स्लेमानी र जेमी भर्डीले गोल गरे दुवै गोल दोस्रो हाफमा भएको हो । ६९ औं मिनेटमा स्लेमानीले गोल गर्दै अग्रता दिलाए । ७८ औं मिनेटमा भर्डीले गोल गर्दै २–० को जित निश्चित गरे ।
यो लेस्टरको लिगमा लगातार पाँचौं तथा समग्रमा लगातार छैटौं जित हो । जितपछि दशौं स्थानमा उक्लिएको लेस्टरको ३० खेलबाट ३६ अंक भएको छ । पुछारको सन्डरल्याण्डको ३० खेलबाट २० अंक छ । अरु खेलमा वाट्फोर्डले वेष्ट ब्रोमलाई २–० तथा बर्नलीले स्टोक सिटीलाई १–० ले हरायो ।