प्रबुद्ध समूहको तेस्रो बैठक आजदेखि काठमाडौंमा

0
558

काठमाडौं, २३ चैत्र । नेपाल–भारत सम्बन्धको बृहत् समीक्षा गर्न गठित प्रबुद्ध ब्यक्ति समूह (इपिजी) को तेश्रो बैठक आजदेखि काठमाडौंमा सुरु हुँदैछ। काठमाडौंको अन्नपूर्ण होटलमा हुने आजको बैठकमा सन् १९५० का मैत्री सन्धि लगायतका सन्धि सम्झौता पुनरावलोकनका बारेमा छलफल हुनेछ ।

बैठकमा नेपालका तर्फबाट विगतमा भएका विभिन्न सन्धि सम्झौता, जलविद्युत तथा ब्यापार सम्झौताहरुका सन्दर्भमा पुनरावलोकन गर्नुपर्ने विषयमा प्रस्तुती गरिने जनाइएको छ । खासगरी नेपालले सन् १९५० का मैत्रीसन्धिका केही बुँदाहरु संशोधन गनुपर्ने नेपाल पक्षले प्रस्ताव गर्नेछ ।

इपिजीका नेपाल संयोजक भेषबहादुर थापाले सन्धि पुनरावलोकनबारे तथा समूह सदस्य सूर्यनाथ उपाध्यायले नेपाल र भारतबीचको जलस्रोत क्षेत्रमा विद्यमान समस्याबारे तथा अर्का सदस्य राजन भट्टराईले नेपाल र भारतबीचको व्यापारका विषयमा प्रस्तुति दिनु हुनेछ ।

यसअघि दुई पटक भएको बैठक औपचारिकतामा मात्रै सीमित भएका थिए । दुवै बैठकमा भारतका तर्फबाट कुनै एजेन्डा प्रस्तावित गरिएका छैनन् ।

सन् १९५० को मैत्री सन्धिको धारा ५, ६ र ७ मा संशोधन गनुपर्ने नेपालले जोड दिँदै आएको छ । सन्धिको धारा पाँचमा नेपालले भारतबाट या भारतीय बाटो हुँदै हतियार, युद्ध सामाग्री या गोलाबारुद आफ्नो सुरक्षाका लागि खरिद गर्न सक्ने तर त्यसरी खरिद गर्दा नेपालले भारतसँग परामर्श गर्नुपर्ने उल्लेख छ ।

सन्धिको धारा ६ मा नेपाल तथा भारतका नागरिकले एक अर्को देशमा औद्योगिक तथा आर्थिक विकासका लागि प्रत्यक्ष सहभागी हुने तथा ठेक्कापट्टामा विशेष प्राथमिकता दिनुपर्ने ब्यवस्था छ ।

सन्धिको धारा ७ मा नेपाल र भारत सरकारले एक अर्को देशका नागरिकलाई आफ्नो देशमा बसोबासको अधिकार, घरजग्गा खरिद गर्नसक्ने, ब्यापारिक गतिविधिमा समान रुपमा सहभागी हुन र खुला सीमाका कारण एक अर्काको भूमिमा सहज रुपमा आवात जावत गर्न पाउने उल्लेख छ ।

समूहमा नेपालका तर्फबाट पूर्वराजदूत डा.भेषबहादुर थापा, एमाले पूर्व सांसद राजन भट्टराई, कानुनविद् सूर्यनाथ उपाध्याय र पूर्वमन्त्री निलाम्बर आचार्य सदस्य हुनुहुन्छ ।

त्यसैगरी भारतका तर्फबाट नेपालका लागि पूर्वराजदूत जयन्त प्रसाद, प्राध्यापकद्वय महेन्द्र पी. लामा र भुवनचन्द्र उप्रेती तथा भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारी सदस्य हुनुहुन्छ ।

नेपाल–भारत शान्ति तथा मैत्री सन्धि (सन् १९५०) लगायतका अन्य द्विपक्षीय सहमति र सन्धिबारे समूहले दुवै सरकारलाई दुई वर्षभित्र प्रतिवेदन दिनेछ ।

विविध कारणबस दुई पटक स्थगन भएको बैठकमा भाग लिन भारतका अधिकारीहरु हिजो नै काठमाडौं आएको प्रबुद्ध समूहको सचिवालयले जनाएको छ ।