काठमाडौं, २३ चैत्र । चीनमा एकजना इन्जिनियरले आफैले बनाएको रोबोटसँग विवाह गरेका छन् । चीनको हाङझाउका ३१ वर्षका इन्जिनियर झेङ जियाजियाले गएको वर्षको अन्त्यतिर एउटा रोबोट निर्माण गरेका थिए । यीङयीङ नामकी रोबोटसँग झेङले एक अनौपचारिक समारोहमा विवाह गरेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ । झेङले यीङयीङ सामान्य मेसिन मात्र नभएको र चिनियाँ अक्षर तथा तस्बिरहरु पनि चिन्न सक्ने दाबी गरेका छन् । त्यस्तै यीङयीङले केही शब्दहरु समेत बोल्न सक्ने झेङले बताएको पत्रिकाले उल्लेख गरेको छ ।
झेङको कम्पनीले भने ती रोबोर्टले झेङसँग मात्र सम्बाद गर्न सक्ने जनाएको छ । विवाह समारोहमा भाग लिएका झेङका एकजना साथीले कलेज पढ्दा झेङले एक युवतीको प्रेममा धोका पाएका थिए जसकारण उनी युवतीको सम्बन्धमा बस्न त्यनी रुचाउँदैनन्, त्यसैले उनले रोबोर्टसँग विवाह गरेको हुन सक्ने बताएका छन् । झेङले भने यस्तो केही नभएको प्रतिक्रिया दिएका छन् ।