काठमाडौं, २४ चैत्र । आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका नेताका व्यक्तिगत मान्छे र गुटको भन्दा लोकप्रिय जनमतको छवी भएका उम्मेदवार चयन गर्न बुद्धिजीवीले नेपाली कांग्रेसका शीर्ष नेतृत्वलाई सुझाव दिएका छन् । मुलुकको सबैभन्दा ठूलो दल कांग्रेसद्वारा घोषणा पत्र तयार गर्न सुझाव संकलनका लागि बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा पेशागत सङ्घ सङ्गठनका प्रतिनिधिले स्थानीय तहमा पार्टीगत गुटको अन्त्य गरी सर्वस्वीकार्य उम्मेदवार चयन गर्नुपर्ने बताएका हुन ।
पार्टीका केन्द्रीय सदस्य महेश आचार्यको नेतृत्वमा गठित घोषणापत्र तयारी समितिले पार्टी शीर्ष नेताको सहभागितासहित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा प्रजातान्त्रिक विचार अवलम्बन गरेका पेशागत सङ्गठनका प्रतिनिधि, पूर्व उच्च प्रशासक, राष्ट्रिय योजना आयोगका पूर्वपदाधिकारी, प्राध्यापक, पत्रकार, अधिवक्तालगायतले लिखित तथा मौखिक सुझाव दिनुभएको थियो ।
अधिकांश वक्ताले केन्द्रीय घोषणा पत्रसँगै स्थानीय मुद्दा समेटिने गरी स्थानीय तहमा समेत घोषणा पत्र बनाउनुपर्ने सुझाव दिनुभएको थियो । कार्यक्रममा मुलुकको इतिहासका हरेक महत्वपूर्ण राजनीतिक परिवर्तन काँग्रेसको नेतृत्वमा सफल भएको र कांग्रेसले अङ्गालेको समाजवाद तथा उदार आर्थिक नीतिका कारण आर्थिक, समाजिक, पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा भएका विकासका बारेमा जनतालाई स्पष्ट जानकारी गराउनुपर्ने सुझाव आएको थियो ।
आगामी वैशाख ३१ गते मुलुकभरका ७ सय ४४ तह स्थानीय तहको निर्वाचन हुँदैछ । यस निर्वाचनबाट कूल ३६ हजार ६ सय ३९ जनप्रतिनिधि निर्वाचन हुनेछन् भने वडा तहमा कम्तीमा ४० प्रतिशत महिला सदस्यको प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले मुलुकको समसामयिक जटिल राजनीतिक परिस्थितिमा ठूलो पार्टीका नाताले काँग्रेसलाई बढी चुनौती थपिएको बताउँदै प्रजातन्त्र बचाउन काँग्रेसले जित्नु अपरिहार्य रहेकोमा जोड दिनुभयो ।
काँग्रेसले स्थापनाकालदेखि नै पार्टीको सिद्धान्तका रुपमा अपनाएको संसदीय प्रणालीमा आधारित बहुदलीय प्रजातान्त्रिक व्यवस्थालाई अन्य पार्टीले रणनीतिक रुपमा उपयोग गर्नमात्र स्वीकारेको प्रश्ङ्ग उल्लेख गर्दै उहाँले काँग्रेससँग अन्य पार्टीको तुलना हुनै नसक्ने जिकिर गर्नुभयो ।