काठमाडौं, २४ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय चुनाव बहिष्कार घोषणा गरेको मधेसी मोर्चालाई फकाउन अर्को प्रस्ताव राख्नु भएको छ । प्रधानमन्त्री दाहालले हिजो मधेसी मोर्चाका दोस्रो तहका नेताहरूसँगको छलफलमा सरकार र मोर्चाको संयुक्त कार्यदलले यसअघि तयार पारेको पाँच बुँदे प्रस्तावलाई संसदमा लैजाने प्रताव राख्नु भएको हो ।
उहाँले पाँचबुँदे प्रस्ताव संसदमा लैजानुअघि संविधान संशोधन विधेयक फिर्ता लिने प्रस्ताव पनि समेत राख्नु भयो । मोर्चाका नेतासँग छलफल गर्नुअघि प्रधानमन्त्री दाहालले काँग्रेसका दोस्रो तहका नेताहरुसँग सुझाव लिनु भएको थियो । मोर्चाका नेताले भने पाँचबुँदे प्रस्ताव पास नहुने स्थितिमा संसदमा लैजानुको कुनै अर्थ नभएको तर्क गरेका छन् ।
प्रधानमन्त्रीले मोर्चाले सहमति जनाए सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन विधेयक फिर्ता लिई पाँच बुँदे प्रस्ताव दर्ता गर्ने आश्वासन दिएको मोर्चाका नेताले बताएका छन् ।