एजेन्सी, २४ चैत्र । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा सिरियामा लगातार आम मानिस मारिइरहेको बारेमा छलफल भएको छ । छलफलमा शक्ति राष्ट्रहरुले आ–आफ्नै तर्क राखेका छन् । अमेरिकालगायत राष्ट्रले सिरियाली राष्ट्रपति बशर अल असदको तानाशाही सीमाभन्दा बाहिर पुगेकाले लगाम लगाउनुपर्नेमा जोड दिएका छन् ।
रुस भने सिरियाको पक्षमा ढाल बनेर उभिएको छ । बैठकमा राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले सिरिया सरकारमाथि नियन्त्रण नगरेकामा रुसको आलोचना गर्दै असदको बर्बरता अन्त्य हुन अरु कति बालबालिका मारिनुपर्ने हो भन्दै प्रश्न गर्नु भयो । रुस असदको पक्षमा उभिएकाले राष्ट्रसंघका यस्ता छलफल पटक पटक अनिर्णित बन्ने गरेका छन् ।
रुसले भने असदको सत्ताले रासायनिक आक्रमण गरेको भन्ने प्रचार गलत भएको भन्दै सिरिया सरकारको बचाउ गरेको छ । अस्ति मंगलबार मात्र सिरियामा २० बालबालिका र ५२ जना अरु बयस्क मारिएका थिए । उपचारस्थलमासमेत आक्रमण गरिएको आरोप लगाइएको छ ।