सरकारमा वरीयता विवाद थप चुलिदै : अझै बस्न सकेन मन्त्रीपरिषद् बैठक

0
460

काठमाडौं, २५ चैत्र । स्थानीय तह सञ्चालनसम्बन्धी विधेयकसहितका एजेण्डा राखेर बिहीबार दिउँसो ३ बजेलाई मन्त्रिपरिषद् बैठक डाकिएको थियो। तर साढे १ बजेतिर मुख्यसचिव सोमलाल सुवेदीलाई प्रधानमन्त्री सचिवालयबाट बैठक बस्न नसक्ने जानकारी आयो। त्यसपछि बैठक सारियो आइतबार दिउँसो ३ बजेलाई।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठकका एजेण्डाहरू थुप्रिने तर बैठक बस्न नसक्ने भएको यो पहिलोपटक होइन। प्रधानमन्त्रीपछिको वरीयतामा को हुने भन्ने विवादले चैत ३ यता मन्त्रिपरिषद् बैठक बस्न सकेको छैन। वरीयता विवादले एक साता चीन भ्रमण जाँदा प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यबाहक प्रधानमन्त्रीसमेत तोक्न सकेनन्। मन्त्रिपरिषद् बैठक बस्न नसक्दा नयाँ महानिरीक्षकको नियुक्तिसमेत हुन सकेको छैन। यसले सत्ता गठबन्धनभित्रै आपसी सम्बन्धमा समेत चिसोपन ल्याएको छ ।

‘वरिष्ठताबारे कुरा मिल्यो भनेरै बैठक बोलाइएको थियो तर अकस्मात् सार्नु भन्ने जानकारी आयो’ मन्त्रिपरिषद् सचिवालयका एक कर्मचारीले भने। दाहाल सरकारमा सुरुमा उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि वरीयतामा प्रधानमन्त्रीपछि थिए। करिब एक महिनाअघि राप्रपाका अध्यक्ष कमल थापा उपप्रधानमन्त्रीका रूपमा सरकारमा सहभागी भएपछि थापा र निधिबीच वरीयता विवाद देखिएको हो। वरीयतामा प्रधानमन्त्रीपछि दोस्रो स्थान पाउने भएपछि आफू सरकारमा सहभागी भएको थापा बताउँछन् ।

संसदमा ३७ सिट रहेको दल राप्रपाका अध्यक्ष थापाको प्रवेशबाट मधेसी मोर्चाले दिएको समर्थन फिर्ता लिँदा दाहालले तत्कालका लागि राहत महसुस गरेका थिए। तर, संसद्मा ठूलो पार्टीबाट सहभागी भएको र सुरुमै नियुक्ति भएको जिकिरसहित उपप्रधानमन्त्री एवं गृहमन्त्री निधिले असन्तुष्टि जनाएपछि दाहाल अनिर्णयको बन्दी भएका हुन्। सत्ता गठबन्धनका नेता एवं प्रधानमन्त्रीको रूपमा दाहालले न अर्का उपप्रधानमन्त्री थापालाई वचन दिएअनुसार कार्यवाहक बनाउन सकेको छन् न त निधिलाई मनाउन नै।