राजीनामाको मुडमा निधि, गृहमन्त्रीमा अर्को विकल्प तयार

0
452

काठमाडौं, २५ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले कमल थापालाई उपप्रधानमन्त्रीमध्ये वरिष्ठतम भएको संकेत दिएपछि आक्रोशित विमलेन्द्र निधि मन्त्रिपरिषद्बाट बाहिरिने तयारीमा छन् । बिहीबार काँग्रेसबाट नियुक्त १४ मन्त्रीहरुलाई गृहमन्त्रालयमै बोलाएर अनौपचारिक छलफल गर्दै निधिले सरकारमा आफ्नो दोस्रो हैसियत सुनिश्चित नगरे मन्त्रिपरिषदमा बस्न नहुने निजी फैसला सुनाएका हुन् ।

करिब नौ महिनापहिले मन्त्रिपरिषद् गठन भएयता प्रधानमन्त्री दाहलको अनुपस्थितिमा दुईपटक मन्त्रिपरिषद्को अध्यक्षता गरेको भए पनि राप्रपा नेता कमल थापा निधिभन्दा वरिष्ठ भएको आधारमा उनलाई दोस्रो हैसियतको वचन प्रधानमन्त्रीले दिएको बुझिएको छ । तर, निधिसँगको बैठकमा सामेल मन्त्रीहरु र पार्टी सभापति शेरबहादुर देउवाले समेत निधिको दाबीलाई प्रतिष्ठाको विषय बनाउन तयार नभएपछि निधि एक्लिएका हुन् ।

उनको बदलामा काँग्रेसबाट गोपालमान श्रेष्ठलाई उपप्रधान तथा गृहमन्त्रीका रुपमा ल्याउने तयारी भएको बुझिएको छ। ’सत्ता गठबन्धनको मुख्य हिस्सेदार दलका तर्फबाट सरकारको नेतृत्व गरेकाले पनि मैले दोस्रो वरीयता पाउनुपर्छ,’ निधिको भनाइ उद्धृत गर्दै बिहीबारको छलफलमा सहभागी सिँचाइमन्त्री दीपक गिरीले भने, ’यदि मेरो वरीयता तलमाथि भयो भने मैले राजीनामै गर्नुपर्ने हुन्छ।’ निधिले सरकारमा सहभागी सबै मन्त्रीलाई आफ्नै कार्यकक्षमा राखेर झण्डै तीन घण्टा सरकार बनेयताका घटनाक्रमबारे लामो ब्याख्यान सुनाएका थिए। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।