डरलाग्दो रुपमा बढ्दैछन् मानसिक रोगी :

0
1494

काठमाडौं, २५ चैत्र । आर्थिक संकट, बेरोजगारी, युद्धलगायत कारणले संसारभर मानसिक रोगका बिरामी बढ्दै गएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका ३ करोड मानिसमा मानसिक समस्या छ ।

मानसिक रोगीको संख्या सन् २००५ देखि २०१५ को बीचमा १८ प्रतिशतले बढेको छ । आपसी सद्भाव र सहयोग नहुनु साथै डरका कारण मानसिक रोगीको संख्या बढ्दै गएको संगठनले जनाएको छ ।

यस्तै नेपालमा ७५ लाख मानिसलाई मानसिक रोगको समस्या रहेको तथ्यांकले देखाएको छ । मानसिक समस्या भएका धेरैजसो विरामीले उपचार पाएका छैनन । सरकारले यी सबै बिरामीलाई उपचारमा ल्याउन मानसिक स्वास्थ्य नीतिको मस्यौदा भने तयार पारेको छ । अब बस्ने मन्त्रिपरिषद्को बैठकमा मस्यौदा पेश गर्ने तयारी स्वास्थ्य मन्त्रालयले गरेको छ । यो नीतिको मस्यौदाले सबै मानसिक बिरामीलाई निःशुल्क उपचारको व्यवस्था गरेको छ भने उनीहरुको सम्मानजनक बाँच्न पाउने अधिकारलाई पनि सुनिश्चित गरेको छ । यो नीति पारित भएमा लामो समयसम्म बन्धक जीवन बिताएका बिरामीले पनि उपचार पाउने छन् ।

स्वास्थ्य मन्त्रालयले नीति कार्यान्वयन गर्न छुट्टै संयन्त्र गठन गर्ने गृहकार्यसमेत अगाडि बढाइसकेको छ । मन्त्रालयमा मानसिक स्वास्थ्य सम्बन्धि छुट्टै संयन्त्र र आवश्यक परेमा प्रादेशिक संरचना अनुसार पनि संयन्त्र विस्तार गर्ने तयारी भएको स्वास्थ्य मन्त्री गगन थापाका सल्लाहकार प्रताप पौडेलले जानकारी दिनुभयो । यस्तै मानसिक स्वास्थ्यको उपचारका लागि सबै क्षेत्र समेट्ने गरी ठाउँ ठाउँका अस्पतालमा पनि छुट्टै उपचार केन्द्र स्थापना गरिने छ ।

शुक्रबार विश्व स्वास्थ्य दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदैछ । यस वर्षको दिवसलाई मानसिक स्वास्थ्यमा केन्द्रीत गरिएको छ । मानसिक स्वास्थ्यका बारेमा कुरा गरौँ भन्ने नाराका साथ विश्वभर शुक्रबार विभिन्न कार्यक्रम हुँदैछन् ।