काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आफ्ना मागहरु राखेर प्रदर्शन गर्दा र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारको प्रयोग गर्दा शान्तिपूर्ण तरिकाले गर्न अपिल गरेको छ । आयोगले समाजवादी मोर्चामा संलग्न विभिन्न राजनीतिक दल र राजतन्त्र समर्थक विभिन्न राजनीतिक दल र संगठनहरुले शुक्रबार उपत्यकामा शक्ति प्रदर्शनको तयारी गरेकोप्रति ध्यानाकर्षण जनाउँदै उक्त अपिल गरेको हो।
आयोगले भोलि (शुक्रबार) हुने प्रदर्शनमा कुनै सुरक्षाको कमी हुन नदिन उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रहरी प्रमुखलाई निर्देशन दिएको छ। उपत्यकाको सुरक्षा व्यवस्थाको सम्बन्धमा काठमाडौं र ललितपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल प्रहरीको मानव अधिकार सेलका प्रतिनिधिसँग बिहीबार छलफल भएको आयोगका प्रवक्ता एवं सहसचिव टीकाराम पोखरेलले जानकारी दिए।
आयोगका प्रवक्ता डा. पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा आफ्नो विचार र अभिव्यक्तिको स्वतन्त्रताको अधिकारको प्रयोग गर्दा देशको संविधान र राष्ट्रिय अन्तर्राष्ट्रिय कानुनमा उल्लिखित प्रावधानको पालनामा संवेदनशील हुन भनिएको छ। ‘अरूको अधिकारमा बाधा पर्नेतर्फ सचेत रहन र आफ्ना प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोग प्रदर्शनरत पक्षलाई अपिल गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘उत्पन्न परिस्थितिको आंकलन गर्दै शान्ति सुरक्षाको व्यवस्था मिलाउँदा मानव अधिकारप्रति संवेदनशील हुन आयोग नेपाल सरकार तथा सम्बद्ध सुरक्षा अधिकारीलाई आग्रह गर्दछ।’
आयोगले प्रदर्शनीका क्रममा दुवै पक्ष आमनेसामने हुने स्थिति सिर्जना भएमा त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिले शान्ति सुरक्षामा समेत चुनौती थप्न सक्ने अवस्थाप्रति आयोगले चासो व्यक्त समेत गरेको छ । आयोगले उपत्यकाको सुरक्षा व्यवस्थाको सम्बन्धमा काठमाडौँ र ललितपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल प्रहरीको मानव अधिकार सेलका प्रतिनिधिसँग छलफल गरेको जनाएको छ ।
छलफलका क्रममा सुरक्षा अधिकारीहरुले शान्तिसुरक्षाको अवस्थालाई व्यवस्थित गर्न उपत्यकाका सबै सुरक्षा निकायबीच समन्वय गर्दै प्रदर्शनकारीका प्रतिनिधिसँग समेत छलफल गरी सुरक्षा योजना तयार पारिएको जानकारी गराए। आयोगका अध्यक्ष तपबहादुर मगरले शान्ति सुरक्षालाई व्यवस्थित गर्न र शान्ति सुरक्षाको प्रबन्ध मिलाउँदा मानव अधिकारका मूल्य मान्यतालाई आत्मसात् गर्न निर्देशन गरेका छन् । आयोगले विभिन्न टोलीहरु बनाई शुक्रबार हुने प्रदर्शनीको मानव अधिकारको कोणबाट अनुगमन समेत गर्नेछ।