कांग्रेसले तय गर्यो चुनावी नारा, यस्ता छन् मुख्य र सहायक नाराहरु

0
667

काठमाडौं, २७ चैत्र । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि चुनावी नारा तय गरेको छ। रामचन्द्र पौडेल नेतृत्वको केन्द्रीय निर्वाचन परिचालन समितिको शनिबार बसेको बैठकले चुनावी नारा तय गरेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। कांग्रेसले ‘कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ मूल नारा तय गरेको हो।

कांग्रेसले सिंहदरबारको अधिकार गाउँ–गाउँमा रूखमा भोट कांग्रेसको नाउँमा, सिंहदरबारको अधिकार गाउँघरमा ल्यायौँ उन्नतिका लागि कांग्रेसलाई जिताऔँ, मधेसी पहाडी दलित जाति जनजाति सबै मतान्तरभन्दा नेपाल देश माथि, सिंहदरबारको अधिकार गाउँघरमा, कांग्रेस नै राम्रो जनताको नजरमा र हिमाल पहाड तराई मधेस कांग्रेसले दिन्छ राष्ट्रिय एकताको सन्देश भन्ने सहायक नारासमेत तय गरेको छ। निर्वाचन समितिले तय गरेको चुनावी नारा प्रत्येक जिल्लामा पठाइसकेको जानकारी पौडेलले दिए। शुक्रबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा नेताहरूले छिटो चुनावी नारा तय गरी घोषणापत्र तयार गर्न तल्लो तहमा पठाउन आग्रह गरेका थिए।

देउवा नबोल्दा पौडेल निधिको पक्षमा

सभापति देउवाले निधिको वरीयताबारेमा मुख खोलेका छैनन् । तर, नेता रामचन्द्र पौडेलले भने ठूलो पार्टीका रूपमा निधि नै प्रधानमन्त्रीपछिको वरीयतामा हुनुपर्ने बताएका थिए। उनले चुनावलाई सत्तासँग जोडेको भन्दै सभापतिको कार्यशैलीप्रति तीव्र विरोध गर्दै निधिप्रति नरम अभिव्यक्ति दिएका थिए। पौडेल पक्षका अरू नेता पनि निधिको पक्षमा देखिएका थिए। आफ्नो विश्वासपात्र निधिलाई पौडेल पक्षले साथ दिने तथा आफ्नो सत्तारोहणलाई पौडेल पक्षले सकेसम्म रोक्न खोजेको बुझाइ पनि देउवाको रहेको कांग्रेसका एक केन्द्रीय सदस्य बताउँछन्। यस्तोमा सकेसम्म निधिसँग दूरी नबढाउने र सकेसम्म उनलाई मनाएर राख्ने नीति देउवाले लिएको देउवानिकट स्रोत बताउँछ। ‘सभापतिलाई निधि, निधिलाई सभापति चाहिने अवस्था छ,’ देउवानिकट स्रोत भन्छ, ‘यस्तोमा सकेसम्म विवाद नगरौँ मिलेरै जाऔँ भन्ने नीति दुवैको देखिन्छ।’

देउवाले निधिलाई भने– हतारमा राजीनामा नदिनू

कांग्रेस सभापति शेरबहादुर देउवाले उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई हतारमा राजीनामा नदिन सुझाएका छन्। शुक्रबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकअघि देउवाले ‘हतार गरेर राजीनामा नदिनू, सरकारमै बसेर काम गर्नुपर्छ’ भनेको निधिका प्रेस संयोजक रामजी दाहालको भनाई छ । शुक्रबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा निधिले बोल्ने तयारी गरे पनि बिहान सभापति देउवासँगको १० मिनेटको छलफलपछि आफ्नो धारणा नै नराखेको देउवानिकट स्रोत बताउँछ।