सेनाले भन्यो, देशमा संकट आए चुप बस्दैनौँ

0
428

काठमाडौं, २७ चैत्र । नेपाली सेनाले स्थानीय तहको चुनावमा सुरक्षा दिन तयारी अवस्थामा रहेको जनाएको छ। सेनाले आउँदो बैशाख ३१ गतेका लागि तोकिएको स्थानीय चुनावलाई शान्तिपूर्ण बनाउन तयारी अवस्थामा रहेको जनाएको हो। देशमा संकट उत्पन्न भए चुप लागेर नबस्ने समेत सेनाले चेतावनी दिएको छ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले स्थानीय चुनावको सुरक्षाका लागि सेना तयारी अवस्था रहेको बताए। भूतपूर्व सैनिकहरुको मध्यपश्चिम क्षेत्रीय सम्मेलनको शनिवार वीरेन्द्रनगरमा समापन गर्दै उनले देशको रक्षार्थ सेना चुप लागेर बस्न नसक्ने उल्लेख गरे। सरकारले दिएको निर्देशन अनुसार आफूहरु तयारी हालतमा रहेको भन्दै क्षत्री चुनावमा शान्ति सुरक्षाको लागि सेनाले कुनै कसर बाँकी नराख्ने बताए। यसअघि संविधान सभाको चुनावमा पनि सेनाले सुरक्षा प्रदान गरेको स्मरण गर्दै उनले भने, ’सेना चुप लागेर बस्न सक्दैन, देशमा संकट ल्याउने क्रियाकलाप नियन्त्रण गर्न हामी प्रतिबद्ध छौं।

मातृभूमिको रक्षार्थ सेना तयारी अवस्थामा छ, चुनावलाई शान्तिपूर्ण बनाउन प्रतिबद्ध छौं।’ उनले विगतमा देशमा शान्ति स्थापनार्थ सेनाले सरकारको निर्देशन अनुसार काम गरेको भन्दै अब स्थानीय तहको चुनावमा पनि डटेर खट्ने बताए। उनले भने, ‘सरकारले आवश्यक निर्देशन दिइसकेको छ, चुनावमा सेनाले सुरक्षा दिनेछ । कोही पनि त्रसित हुनुपर्ने अवस्था छैन, शान्तिपूर्ण रुपमा नै चुनाव सम्पन्न गराउन हामी खट्ने छौं।’ परिवर्तित राजनीतिक अवस्था अनुसार नेपाली सेनाले सचेत भएर काम गरिरहेको जनाएको छ। देशको स्वाभिमान, राष्ट्रिय एकता र संकट समाधानका लागि सेना संधै तयार रहेको प्रधान सेनापति क्षेत्रीको भनाइ छ। उनले सरकारको निर्देशन अनुसार नै सेना अगाडि बढ्ने भन्दै तत्कालका लागि सम्पूर्ण शक्ति स्थानीय चुनावलाई शान्तिपूर्ण बनाउनेतर्फ केन्द्रित भएको उल्लेख गरे।