निजी विद्यालयको मन्त्रालयले थाल्यो अनुगमन

0
1200

काठमाडौं, २७ चैत्र । शिक्षा मन्त्रालयले नयाँ शैक्षिक सत्रका लागि आफूखुसी शुल्क वृद्धि गर्ने निजी विद्यालयको अनुगमन गर्ने भएको छ । संस्थागत विद्यालय सञ्चालन तथा व्यवस्थापन निर्देशिका र शुल्क निर्धारणसम्बन्धी निर्देशिका अनुसार विद्यालय भर्ना गर्न र शुल्क लिन मन्त्रालयमातहतका निकायले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि अटेरी गरेको भन्दै मन्त्रालय आफैले अनुगमन गर्ने तयारी गरेको हो ।

नयाँ शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुने भएपनि अधिकांश निजी विद्यालयले प्रवेश परीक्षा र भर्ना लिने कार्य सिध्याइसकेका छन् । नयाँ शत्र आरम्भ नहुँदै अभिभावकलाई ६० प्रतिशत शुल्क वृद्धि भएको सूचना दिने प्यारागन विद्यालयलाई काठमाडाँै जिल्ला शिक्षा कार्यालयले सचेत गराएको छ । अन्य विद्यालयले पनि आन्तरिक रुपमा १० देखि ५० प्रतिशतसम्म शुल्क वृद्धि गरेको भेटिएको छ ।

काठमाडौँका जिल्ला शिक्षा अधिकारी जय आचार्यले शिक्षा विभागको निर्देशनबमोजिम वैशाखको पहिलो सातादेखि अनुगमन सुरु गरिने बताउनु भएको छ । यहाँले मापदण्ड विपरीत शुल्क लिएको पाइएमा कडा कारबाही हुने समेत बताउनु भएको छ । जिल्ला शिक्षा कार्यलयले ‘क’ श्रेणीका निजी विद्यालयका लागि माध्यमिक तहमा बढीमा मासिक तीन हजार ६ सय ७५ रुपैंया लिन सकिने गरी शुल्क निर्धारण गरेको छ ।