भारतले बङ्गलादेशलाई चार अर्ब पचास करोड डलर ऋण दिने

0
548

नयाँ दिल्ली, २७ चैत्र । भारत तथा बङ्गलादेशबीच शनिबार ढाकालाई विकास परियोजनाका लागि सहुलियतसहित चार अर्ब पचास करोड अमेरिकी डलर बराबर ऋण सुविधा उपलब्ध गराउने सहित अनेकौँ सम्झौतामा हस्ताक्षर भएको छ। दक्षिण एसियाली यी दुई छिमेकी हाल सम्बन्ध गहिरो बनाउन प्रयासरत रहेको बताइएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा बङ्गलादेशका उनका समकक्षी सेख हसिनाबीच नयाँ दिल्लीमा व्यापक क्षेत्रका विषयमा वार्ता भएको र उहाँहरूले प्रतिरक्षा, क्षेत्रीय सुरक्षा तथा अन्तर्रा्ष्ट्रिय आतङ्कवाद विरुद्ध सङ्घर्षका लागि सहयोगका विषयमा पनि छलफल गरेको बताइएको छ।

दुबै पक्षका अधिकारीहरूले आउँदो पाँच वर्षका लागि प्रतिरक्षा सहयोगमा सम्झौता संरचना र भारतबाट बङ्गलादेशलाई सैनिक उपकरण खरिद गर्न ५० करोड अमेरिकी डलर उपलब्ध गराउने साथमा २२ वटा सम्झौतामा हस्ताक्षर गरेको जानकारी दिइएको छ।

दुई पक्षबीच नागरिक पारमाणविक सहयोगका विषयमा पनि सम्झौतामा हस्ताक्षर भएको छ र यस अन्तर्गत नयाँ दिल्लीले ढाकालाई नागरिक पारमाणविक कार्यक्रम विकास गर्न सहयोग गर्नेछ। भारतीय प्रधानमन्त्री मोदीले बङ्गलादेशी समकक्षी हसिनाले भारत–बङ्गलादेशबीच सम्बन्धको ‘स्वर्ण युग’ मा भ्रमण गरेका र भारत बङ्गलोदशका लागि लामो समयसम्मको विश्वासिलो विकास साझेदार भएको बताए।

भारत तथा बङ्गलादेशबीच चार हजार १०० किलोमिटर लामो सीमा रहेको छ।