मधेसी मोर्चासँग सरकारको ’निर्णायक’ वार्ता

0
454

काठमाडौं, २८ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चा्सित सोमबार बिहान निर्णायक वार्ताको तयारी गरेका छन्। आइतबार अपराह्न र साँझ मोर्चा नेतासँग छुट्टाछुट्टै भेट गरेपछि दाहालले सोमबार बिहान १० बजे सरकारी निवास बालुवाटारमा निर्णायक वार्ता गर्दै संविधान संशोधन विधेयकको नयाँ मस्यौदा टुंगो लगाउने निर्णय गरेका हुन्। दाहालले २३ दिनयता बस्न नसकेको मन्त्रिपरिषद् बैठक पनि सोमबारै राखेर नयाँ विधेयक अघि बढाउने भएका छन्। सोमबारै संसद सचिवालयमा उक्त विधेयक दर्ता गराउने उनको तयारी छ।

दाहालले आइतबार संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव, तमलोपा उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्ल, सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो, तमसपा अध्यक्ष महेन्द्र यादवसँग छुट्टाछुट्टै भेटेका थिए। तीमध्ये केही भेटमा उपप्रधानमन्त्री तथा राप्रपषा अध्यक्ष कमल थापा पनि बसेका थिए। प्रधानमन्त्री निकट स्रोतका अनुसार यी सबै भेटमा दाहालले संविधान संशोधनको पुरानो मस्यौदाले मोर्चाको माग सम्बोधन गर्न चाहे पनि मोर्चाले चित्त नबुझाएको, एमालेले निकास दिन नसघाएको भन्दै अब त्यसलाई फिर्ता लिएर नयाँ मस्यौदा लैजाने ठहरमा आफू पुगेको बताएका थिए।