रौतहट, २८ चैत्र । नेपाल–भारत सीमानजिक सोमबार दिउँसो बम पड्केको छ । नेपाल भारत सीमा क्षेत्रको जंगे पिलरको नजिकै बेवारिसे अवस्थामा रहेको बम पड्किएको हो ।
रौतहटको जिंगडबा बेलबिछवा वडा नम्बर–८ मा रहेको पिलर नम्बर ३४४ भन्दा झण्डै सय मिटर उत्तर नेपालतर्फको खेतमा बेवारिसे अवस्थामा रहेको बम पड्किँदा खेतमा चरिरहेको स्थानीय विनोद राय यादवको एउटा भैँसी घाइते भएको छ ।
सदरमुकाम गौरस्थित भन्सार कार्यालयभन्दा झण्डै दुई किलोमिटर पूर्वतर्फ रहेको पिलरभन्दा केही पर सुर्तीजन्य तुलसी परागको टिनको बट्टामा रहेको पुरानो बम नजिक चर्दै जाँदा भैँसीले खुटा टेकेपछि बम पड्किएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय रौतहटका प्रमुख एसपि भगवान मल्लले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको एसपि मल्लको भनाई छ ।