काठमाडौं, २८ चैत । प्रहरीले अवैध डलरसहित पक्राउ परेका नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन सुवर्ण अवालेलाई राजश्व अनुसन्धान विभागलाई बुझाएको छ । विभागले सोमबार नै जिल्ला अदालतबाट ३० दिन थुनामा राख्न अनुमति दिएको छ । र, अवालेसँग बयान दिने क्रम सुरु भएको विभागका सूचना अधिकारी देवीप्रसाद थपलियाले जानकारी दिए ।
नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट अवाल आइतबार राति ९३ हजार ६०० अबैध अमेरिकी डलरसहित पक्राउ परेका थिए । आरए २२९ जहाजको काठमाडौं–दुबई उडानका लागि विमानस्थल जाने क्रममा उनी पक्राउ परेका हुन् । उनको हृयाण्डक्यारी एक्सरे मसिनमा स्क्यान गर्ने क्रममा शंका लागेपछि प्रहरीले खोलेर चेक जाँच गरेको थियो । त्यसक्रममा डलर भेटिएको छ । ‘हृयाण्डक्यारीमा लुकाएको अवस्थामा डलर बरामद भएको हो, एयरपोर्ट प्रहरीले बताएको छ ।
उनलाई रातभर गौशला प्रहरी वृत्तमा राखिएको थियो । उनलाई विहानै प्रक्रिया पुरा गरेर राजश्व अनुसन्धान विभागमा बुझाइएको एयरपोर्ट प्रहरीले जनाएको छ । राजश्व अनुसन्धान विभागका अनुसार बयान सकिएपछि मुद्धा चलाउने प्रक्रिया सुरु हुनेछ । विभागले संगठित अपराध वा डलरको अवैध कारबारको आशंमा छानविन गरिरहेको छ ।