नेपाल प्रहरीको महानिरीक्षकमा प्रकाशचन्द्र अर्याल नियुक्त

0
1010

काठमाडौं २८ चैत । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) मा प्रकाश अर्याललाई नियुक्त गरेको छ । २५ दिनपछि सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले डिआईजी अर्याललाई नेपाल प्रहरीको आइजीपीमा नियुक्त गरेको हो ।

यसअघि गत फागुन १ गते आइजीपीमा डिआईजी जयबहादुर चन्दलाई नियुक्त गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिदिएको थियो । चन्दलाई नियुक्त गर्ने सरकारले निर्णय गरेको भोलिपल्टै डिआईजी नवराज सिलवालले आफूलाई आइजीपी बनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको थियो ।

रिटमाथि सर्वोच्चको पूर्ण इजलाशले चन्दलाई आइजीपी बनाउने सरकारको निर्णय खारेज गरेको थियो। चन्दविरुद्ध सर्वोच्चमा रिट दायर भएपछि सरकारले प्रहरी नियमावली संशोधन गरी नेपाल प्रहरीको निमित्त महानिरीक्षकको जिम्मेवारी एआईजी डा। दिनेशचन्द्र पोखरेललाई दिएको थियो ।

दाङको त्रिभुवन नगरपालिका–११ मा २०२० असार १४ गते जन्मिएका प्रकाश अर्याल २०४४ चैत १९ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका हुन्। दैलेख, तेह्रथुम, रुपन्देही, मकवानपुर, कास्कीमा उनी प्रहरी प्रमुख भएर काम गरे। उनी अञ्चल प्रहरी कार्यालय रुपन्देही र मध्य क्षेत्रीय प्रहरी कार्यालय प्रमुख पनि भए। प्रहरीमा अर्याल कडा स्वभावका अधिकृतका रूपमा गनिन्छन्। उनले स्नाकोत्तरसम्मको अध्ययन गरेका छन्। उनी २०६९ साल पुस ४ गते एसएसपीबाट डिआइजीमा बढुवा भएका थिए ।