काठमाडौँ । नेपालबाट चोरी गरी अमेरिका पुर्याइएका २१ वटा पुरातात्त्विक महत्वका कलात्मक वस्तुहरू नेपाल फिर्ता ल्याइएको छ ।
आइतबार बिहान पुरातत्व विभागले मूर्तिहरूलाई सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरेको हो ।
यीमध्ये तीनवटा पौवा चित्रहरू (१५–१८ औं शताब्दी) का रहेका छन् । यी पौवा चित्रहरू काठमाडौँस्थित इटुम्बहालबाट वि.सि. २०३७ सालमा हराएका थिए भने एउटा प्रस्तरबाट निर्मित स्थानक बुद्धको मूर्ति (९ औं शताब्दी) बुङमतिको मच्छिन्द्रबहाल परिसरको चैत्यबाट हराएको थियो ।
साथै आर्ट इन्स्टिच्युट शिकागोबाट फिर्ता भएको पाटनको गुइत टोलको गुइत चैत्यको प्रस्तरको मुद्धलिन्द बुद्धको मूर्ति बान –१ (१२- १३ औँ शताब्दी) तथा अन्य १६ थान कलात्मक वस्तुहरू (९–१९औं शताब्दी) पनि नेपालका विभिन्न ठाउँबाट हराएर अमेरिका पुगेका थिए ।
