काठमाडौं, ३० चैत्र । नेपाल उद्योग वाणिज्य महासंघले नेतृत्व चयन गरेको छ । मंगलबार सम्पन्न साधारणसभाबाट नयाँ नेतृत्व चयन भएको हो । महासंघको संशोधित विधानअनुसार नेतृत्व यसअघिको कार्यकालकी बरिष्ठ उपाध्यक्ष भवानी राणाले नेतृत्व सम्हाल्नु हुनेछ भने बरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा निर्वा्चित हुनु भएको छ ।
प्रतिद्वन्द्वी किशोर प्रधानलाई फराकिलो मत अन्तरले पराजित गर्दै गोल्छा वरिष्ठ उपाध्यक्षमा विजयी हुनु भएको हो । गोल्छाले ६३.३० तथा प्रधानले ३६.७० प्रतिशत मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।
गोल्छा तीन वर्षपछि हुने महासंघको अधिवेशनबाट अध्यक्ष बन्ने पक्का भएको छ । महासंघको नयाँ विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुनेछ । यसअनुसार तीन वर्षपछि ५२ औं साधारणसभाबाट गोल्छा स्वतः अध्यक्ष हुनुहुने छ ।
देशको पुरानो औद्योगिक घराना गोल्छा समूहका कार्यकारी निर्देशक युवा उद्यमी गोल्छा यसअघि एसोसिएटतर्फ उपाध्यक्ष हुनुहुन्थ्यो भने प्रधान जिल्ला नगरबाट उपाध्यक्ष हुनुहुन्थ्यो ।
यस्तै, जिल्ला र नगर समूहको उपाध्यक्षमा प्रधान समूहबाट प्रमोद श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले ५३ तथा उहाँका प्रतिद्वन्द्वी दिलिप श्रेष्ठले ४७ मत पाउनुभयो । वस्तुगततर्फको उपाध्यक्षामा गोल्छा समूहका उमेशलाल श्रेष्ठ विजयी हुनभएको छ । वरिष्ठ उपाध्यक्षमा निर्वा्चित गोल्छाले आफ्नो कार्यकालमा नीतिगत सुधारमा जोड दिने बताउनुभएको छ ।
नव नियुक्त राणालाई निवर्तमान अध्यक्ष पशुपति मुरारकाले पद हस्तान्तरण गर्नुहुनेछ ।