सिलवालको रिट न्यायाधीश खतिवडाको बेन्चमा : उनै हुन् कार्यसम्पादनमा अगाडि देख्ने

0
675

काठमाडौं, ३० चैत । प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा गरेको बढुवा खारेज गर्न भन्दै डीआईजी नवराज सिलवालले सर्वोच्च अदालतमा हालेको रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको बेन्चमा परेको छ । न्यायाधीश खतिवडा तिनै हुन्, जसले डीआईजी सिलवाल कार्यसम्पादन मूल्यांकनमा अगाडि रहेको भन्दै उनलाई आईजीपी नियुक्त गर्न सरकारका नाममा परमादेश दिने पूर्ण इजलासका सदस्य हुन् । प्रधानन्यायाधीश सुशीला कार्कीसहितको पूर्ण इजलासमा हरिकृष्ण कार्की, खतिवडा सदस्य थिए ।

सिलवालले हालेको रिटमा आजै सुनुवाइ हुने बताइएको छ । उनले उत्प्रेषणको माग गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित आठजनालाई विपक्षी बनाई रिट दायर गरेका थिए । सरकारले सोमबार राति वरिष्ठको आधार देखाउँदै अर्याललाई आईजीमा बढुवा गरी राति नै फुली लगाइदिएको थियो । सरकारले गरेको सो निर्णय सर्वोच्च अदालतको आदेश विपरीत भएको भन्दै डीआईजी सिलवाल मंगलबार सर्वोच्च अदालत पुगेका थिए । उनले अर्यालको नियुक्ति बदर गरी स्टे अर्डर जारी गर्नुपर्ने माग गरेका छन् ।

उनले रिटमा डीआईजीको कार्यसम्पादन मूल्यांकनमा आफू नै अगाडि रहे पनि सरकारले अर्याललाई नम्बर थप गरी आईजी बढुवा गरेको जिकिर गरेका छन् । उनले सर्वोच्चले परमादेश दिँदाको भन्दा बढी नम्बर अर्यालको कसरी आयो ? भन्दै सरकारले षड्यन्त्र गरेको उल्लेख गरेका छन् ।

यसअघि गत फागुन १ गते सरकारले डीआईजी जयबहादुर चन्दलाई महानिरीक्षक बनाउँदा पनि वरिष्ठता मिचिएको भन्दै सिलवालले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले चन्दको नियुक्ति खारेज गरेपछि झन्डै दुई महिनापछि सरकारले अर्याललाई महानिरीक्षक नियुक्ति गरेको हो ।