काठमाडौं, ३० चैत । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि देशभर मतदान केन्द्र तोकेको छ । प्रदेश नम्बर २ मा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको विरोधाबीच पनि आयोगले मतादन केन्द्र निर्धारण गरेको छ ।
बैशाख ३१ का लागि तय भएको स्थानीय निर्वाचनका लागि देशभर मतादन केन्द्र तोकिएका हुन् । निर्वाचन आयोगका अनुसार मतदान केन्द्र तोकिएसँगै आयोगलाई काम गर्ने बाटो खुलेको छ । मतदान केन्द्र तोक्न बाँकी रहेका महोत्तरी, सिरहा र सप्तरीमा क्रमशः २५६, २९२ र २१८ मतदान केन्द्र तय भएका छन् ।
असन्तुष्ट मधेसी मोर्चा सहमतिमा नआएपछि अन्तिम समयमा मोर्चामा आवद्ध बाहेकका दलहरुको सल्लाहमा मतदान केन्द्र तोकिएको हो । मतदान केन्द्र तोक्ने सहयोगी दलमा कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपासहितका दलहरु छन् भने मधेसवादी दलहरु त्यसको विरोधमा छन् ।