काठमाडौं, ३० चैत । सर्वाेच्च अदालतले प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय बदरको मागमा अन्तरिम आदेश जारी गर्नु नपर्ने जनाएको छ ।
आफूलाई आईजीपीको दाबेदार मानेका डीआईजी नवराज सिलवालले दायर गरेको रिटमा प्रारम्भीक सुनुवाई गर्दै बुधबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले अन्तरिम आदेश दिनु नपर्ने निर्णय सुनाएको हो ।
‘सुविधा सन्तुलनको दृष्टिले विचार गर्दा अहिले अन्तरिम आदेश जारी गर्नु मनासिव नदेखिएकाले निवेदनको माग बमोजिम अन्तरिम आदेश जारी गर्न मिलेन’, आदेशमा भनिएको छ । इजलासले अन्तरिम आदेश दिँदा चुनावको शान्ति सुरक्षा प्रभावित हुनसक्नेतर्फ ध्यानाकर्षण भएको जनाएको छ ।
सर्वोच्चले प्रधानमन्त्री कार्यालय लगायतका विपक्षीको नाममा कारण देखाउ आदेश दिएको छ । सिलवालको माग बमोजिम आदेश किन जारी हुनु नपर्ने हो ? कुनै आधार र कारण भए वैशाख १५ भित्र जवाफ पेश गर्न भनिएको छ ।
वैशाख १९ गते पूर्ण इजलासमा पेश गर्न पनि आदेश दिइएको सर्वाेच्च अदालतले अर्याललाई आईजीपी बनाउने निर्णय, चार डीआईजीको ४ आर्थिक वर्षको कार्यसम्पादन मूल्यांकनको सक्कल ७ दिनभित्र झिकाउन पनि भनेको छ ।